समाचारआइतबार, आषाढ ८, २०७१
जनकपुरमा आमा–छोराको हत्या
धनुषाको धनौजी–३ घर भई जनकपुर नगरपालिका–४कटैया चौरीमा निर्माणाधिन घरमा बस्दै आएकी २७ वर्षीया मैतुन खातुन र उनका छोरा ७ वर्षीय अमिरुल साफीको ७ असार राति हत्या भएको छ ।
मृतक मैतुनका पति आलम साफी रोजगारको सिलसिलामा कतारमा छन् । कतारबाट पतिले पठाएको रकमले बनाउँदै गरेको घरमा मैतुन दुई छोरा र एक छोरीका साथ बसेकी थिइन् । उनका अन्य छोरा छोरी भने सकुशल छन् ।
८ असार बिहान उठ्दा आमा र भाईलाई विभत्स अवस्थामा देखेपछि १२ वर्षीया छोरी मकिनाले छिमकी गुहारेकी थिइन् ।
स्थानीयका अनुसार मृतकका पतिले एक दिनअघि मात्रै कतारबाट साढे दुई लाख रुपैयाँ पठाएका थिए । पैसाका कारणले पनि हत्या भएको हुनसक्ने उनीहरुको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी उत्तमराज सुवेदीले घटनाको अनुसन्धान भहेको बताए ।
उक्त घर निर्माण कार्यमा सलंग्न ठेकेदारसहित केही कामदारलाई नियन्त्रणमा लिएर सोधपुछ जारी रहेको जानकारी दिंदै सुवेदीले भने, “घटनाको अनुसन्धान भईरहेको छ, दोषीको अनुहार पनि प्रष्ट हुँदैछ ।”
मृतकको शव पोष्मार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

