समाचारसोमबार, आषाढ ९, २०७१
आमा–छोराको हत्यारा पक्राउ
कटैया चौरीमा आमा–छोराको हत्यामा संलग्न एक जनालाई ८ असार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्लाअन्तर्गत चोरौत बस्ने २१ वर्षीय दिपककुमार ठाकुर छन् ।
उनी हत्या गरिएकी मैतुल खातुनको घर निर्माणको क्रममा ठेकेदारको काम गर्दै आएका थिए । प्रहरीले ९ असारमा पत्रकार सम्मेलन गरेर ठाकुरलाई सार्वजनिक गरेको हो ।
उनको साथबाट रु.१ लाख १२ हजार नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका आमा–छोराको ७ असार राति हत्या भएको थियो । चोरी गर्ने क्रममा मृतक खातुनले थाहा पाएपछि उनले आमा–छोरालाई नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी उपरिक्षक उत्तम सुवेदीले बताए ।
ठाकुरमाथि मूलुकी ऐन ज्यान सम्बन्धि महल बमोजिम अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्ने प्रहरी कार्यालयले जनाएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर

