समाचारशनिबार, भाद्र ३०, २०६९
राष्ट्रपतिले असंवैधानिक कदम चाले प्रतिकारः एमाओवादी
एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा ३० भदौमा प्रवक्ता सापकोटाले सञ्चारकर्मीहरुसँग यस्तो धारणा राखेका हुन् । उनले असंवैधानिक कदमको विरोधमा जनताको बीचमा गएर त्यसको भण्डाफोर गरिने पनि बताए ।
सापकोटाले नेपाली कांग्रेस र नेकपा एमाले सहमतिलाई प्राथमिकता दिनुभन्दा पनि राष्ट्रपतिलाई उक्साउन उद्यत रहेको टिप्पणी गरे । राजनीतिक संकटको निकास खोज्ने विषयलाई प्राथमिकता दिएर अगाडि जानुको साटो असंवैधानिक बाटोबाट निकास खोज्ने दिशामा केन्द्रित हुनु देश र जनताको लागि घातक भएको उनको भनाइ छ ।
सापकोटाले भने, “कांग्रेस र एमालेको पहिलो प्राथमिकता राष्ट्रपतिले कदम चाल्नुपर्ने, दोस्रो आन्दोलन र तेस्रो प्राथमिकता मात्रै सहमति भन्ने छ ।” संविधानका अन्तरवस्तुमा सहमति भई संविधानसभा पुनर्स्थापना भएको अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफ्नो पार्टी तयार रहेको सापकोटाले उल्लेख गरे ।
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाटै संविधान भन्नेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको र कार्यसूची आफ्नो पार्टीको ‘बटमलाइन’ भएको उनको भनाइ थियो ।
