थप समाचारबुधबार, आषाढ ११, २०७१
बेलको जुसले लाखको कमाइ
नवलपरासीको सुनवल― २ मा रहेको विशासय सामुदायिक वनमा बेल पर्याप्त पाइन्छ। यो देखेकी सीता तिमल्सेना (३२) ले ६ वर्षअघि वनका बेल ल्याएर जुस उत्पादन गर्न थालिन्। जिल्ला लघु उद्यम समूहबाट जुस बनाउने तालिम लिएकीले उनलाई सजिलो पनि भयो।
सामुदायिक वन उपभोक्ता समूहको कोषाध्यक्ष समेत रहेकी तिमल्सेनाको परिचय अहिले उद्यमीको बनेको छ। उनले बनाएको जुस काठमाडौं, पोखरा, नारायणगढ र बुटवलसम्म पुग्न थालेको छ। तर, घर छोड्न नसक्दा र पसलसम्मै जुस पुर्याउनुपर्ने भएकाले व्यापार विस्तार गर्न समस्या परेको उनको भनाइ छ। उनको जुस उद्योगलाई खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय भैरहवाले अनुज्ञा पत्र दिएकाले बजारमा बेच्न केही सहज भएको उनी बताउँछिन्।
एक पटक जुस दिएको ठाउँबाट माग आउन थालेकाले उनको उद्योगले यो वर्ष जुस उत्पादन बढाएको छ। त्यसैले, उद्योगमा काम गर्नेको संख्या बढेर १० जना पुगेको छ। ती कामदारले दैनिक रु.२५० पारिश्रमिक र रु.३० खाजा खर्च पाउँछन्। वैशाख र जेठको गर्मीमा बढी माग हुने भएकाले उत्पादन पनि ती महीनामै बढी गर्नुपर्छ। त्यसैले ती महीनामा जंगलबाट बेल खोज्न र जुस उत्पादन गर्न उनीहरूलाई भ्याईनभ्याई हुन्छ। सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले ‘एक सामुदायिक वन एक उत्पादन’ को नारा ल्याएकोले पनि सहज भएको सीता बताउँछिन्।
एक सिजनमा उनीहरूले उत्पादन गर्ने १२ देखि १५ हजार बोतल जुस वर्षभरिमा बिक्री भइसक्छ। ७५० मिलिलीटर हुने एक बोतल जुस रु.१०० मा बिक्री हुन्छ। यस हिसाबले वर्षभरिमा यो उद्योगले रु.१५ लाखको जुस बिक्री गर्छ। व्यापार राम्रो हुन थालेकाले दुई बिघा जमीनलाई कबुलियती वन बनाएर बेल लगाउने तयारी गरेको सीता बताउँछिन्। यसका लागि वन उपभोक्ता समितिले सहयोग गरेको समितिका सचिव दिलीप चापागाई बताउँछन्।
बेलको सर्वतले शरीरलाई शीतल बनाएर ताजगी प्रदान गर्ने, कब्जियत, अपच, अरुचि, अम्लपित्त, ग्याष्ट्रिक हटाउने, मधुमेह, ब्लड प्रेसरलाई राम्रो हुने तथा अनुहारको चाया पनि हटाउने विश्वास गरिन्छ। एक गिलास सर्वतमा चार गिलास पानी मिसाएर खाँदा राम्रो हुने सीता बताउँछिन्।
विद्रोही गिरी, नवलपरासी

