थप समाचारबिहीबार, आषाढ १२, २०७१
जासूस एप्लिकेशन
-गणेश आचार्य
आफ्नो एसएमएस र कल लग अरुले हेर्न नपाउन् भनेर स्मार्टफोनमा सेक्युरिटी राख्नुभएको होला, तर पनि तपाईंको गोपनीयता नजोगिएको हुन सक्छ। स्टोरेजमा भएका फाइल, एसएमएस, एमएमएस, फोन बुक, आएको–गएको कल डिटेल पनि गोप्य नहुन सक्छन्।
काठमाडौंको एउटा अंग्रेजी पत्रिकामा काम गरिरहेका मोरिसस्का स्टेफेन ह्वीटले आफ्नो मोबाइलमा पहिल्यै इन्स्टल भइसकेको फेसबुक एपको इन्फो हेर्दा त्यो शंका पुष्टि भएपछि उनले तुरुन्त एप्लिकेशन डिलेट गरे। आफूले एप्लिकेशनका शर्तहरू कहिल्यै नहेरेको/नपढेको बताउँदै स्टेफन भन्छन्, “साथीहरूले मोबाइल एप्लिकेशनहरूबाट निगरानी भइरहेको हुन सक्छ है भनेपछि मात्र फेसबुकको एप इन्फो हेरें।”
एप्लिकेशनले प्रयोग गर्ने मोबाइलका फिचरलाई ध्यानपूर्वक हेर्ने हो भने अचम्मै परिने कुराहरू हुन्छन्। त्यहाँ समाचार पढ्न इन्स्टल गरिएको एपले समेत कल लग हेर्न अनुमति मागेको हुन्छ।
डाटा सेन्टर अफ चाइना इन्टरनेट (डीसीसीआई)ले चीनमा सबभन्दा धेरै चल्ने १४०० एप्लिकेशनमा गत वर्ष गरेको सर्वेक्षणले तीमध्ये ६७ प्रतिशतले मोबाइल प्रयोगकर्ताको गोप्य सूचना लिइरहेको तथ्य पत्ता लगाएको थियो। चार वर्षअघि अमेरिकाको वाल स्ट्रिट जर्नलले आईओएस र एन्ड्रोइडका १०१ वटा चर्चित एप्लिकेशनमा गरेको अनुसन्धानले पनि तीमध्ये ५६ वटाले फोनको व्यक्तिगत परिचयात्मक नम्बर युनिक आइडी कुनै तेस्रो पक्षलाई निर्यात गरिरहेको पत्ता लगाएको थियो।
यसैगरी, ४७ वटा एप्लिकेशनले त्यो फोन अहिले कुन ठाउँमा चलिरहेको छ भन्ने सूचना तेस्रो पक्षलाई पठाइरहेको थाहा भयो भने पाँच वटाले प्रयोगकर्ताको व्यक्तिगत विवरण तेस्रो पक्षलाई पठाइरहेका थिए। यसको अर्थ, धेरैजसो एप्लिकेशन डेभलपरहरूले फोन प्रयोगकर्तालाई थाहै नदिई सूचना लिइरहेका हुन्छन्।
जर्नलले एन्ड्रोइडले भन्दा आईओएसले बढी सूचना निर्यात गरेको भेटेको थियो। यो स्थितिमा कुनै फेरबदल आएको छैन, बरु स्मार्टफोनको प्रयोग ह्वात्तै बढेको छ अनि एप र प्ले स्टोरहरुमा नयाँ एप्लिकेशनहरूको बाढी पसेको छ। अर्थात्, हाम्रा गोपनीयता झन् खतरामा छन्।
एप्लिकेशन पर्मिसन्स्
कुनै पनि एप्लिकेशनलाई स्मार्टफोनमा इन्स्टल गर्नु अगाडि मोबाइलका के–के कुरा प्रयोग गर्न सक्ने भनेर उल्लेख गरिएको हुन्छ, जुन हामीमध्ये धेरैले पढ्दैनौं। पढिहाल्यौं भने पनि गम्भीरतापूर्वक लिंदैनौं। कुनै एप्लिकेशनले मोबाइलको एसडी कार्ड (फोटो, भिडियो, गीत राखिएको ठाउँ) प्रयोग गर्छु भनेको हुन्छ, तर हामी किन त्यसले यो अनुमति मागिरहेको छ भनेर ध्यान दिंदैनौं? परिणाम, हाम्रा गोप्य सूचना ती डेभलपरहरूले लैजान्छन् र अरु कुनै प्रयोजनमा प्रयोग गर्छन्।
भएभरका सबै पर्मिसन्स् लिएका फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाल सम्बन्धी एप्लिकेशनहरूले हाम्रो स्मार्टफोनको सबै कुरामा पहुँच राख्छन्।
एप्लिकेशनहरूले खासगरी फोन गर्ने, एसएमएस तथा एमएमएस पठाउने–पढ्ने, एसडी कार्डको सामग्रीहरू हेर्ने, मोडिफाई गर्ने, मोबाइल फोनबुक चलाउने, प्रयोगकर्ता अहिले कहाँ छ भनेर जीपीएस प्रविधिबाट थाहा पाउने जस्ता पर्मिसन्स् मागेका हुन्छन्। त्यसलाई हामी सहज रुपमा स्वीकार्छौं र इन्स्टल गर्छौं। तर, कस्तो एप्लिकेशनले पर्मिसन मागेको छ भन्ने कुरामा ढुक्क नभएसम्म इन्स्टल गर्न नहुने एप डेभलपर शंकर उप्रेती बताउँछन्।
कानूनी पाटो
गत वर्ष स्वीडेनमा भएको इन्टरनेट स्वतन्त्रता सम्बन्धी कार्यशालामा गुगलका प्रतिनिधिलाई एक सहभागीले ‘प्रयोगकर्ताका सूचना कत्तिको सुरक्षित राख्छौ? अरुलाई निर्यात गर्छौ कि गर्दैनौ?’ भनेर सोधेछन्। त्यो कार्यशालामा सहभागी अधिवक्ता टंक अर्याल भन्छन्, “तर, एप्लिकेशनहरूले प्रयोगकर्ताबाट कति सूचना लिन्छु र तेस्रो पक्षसँग बाँड्छु कि बाँड्दिनँ भनेर स्पष्ट पारेका छैनन्।”
यसबाट प्रष्ट हुन्छ, हामीले एप्लिकेशनले मागेको अनुमति नपढेरै/नबुझेरै स्वीकार गर्यौं र त्यो सूचना दुरुपयोग भयो भने हामी नै त्यसको दोषी हुन्छौं। त्यसैले कुन एप्लिकेशनले हाम्रो स्मार्टफोनको के–के कुरा प्रयोग गर्छ भन्ने कुरा थाहा पाउन, मागेको पर्मिसन राम्रोसँग हेर्नै पर्छ। इन्स्टल गरिसकेको एप्लिकेशनले के–के कुरा प्रयोग गरिरहेको छ भन्ने थाहा पाउन, सेटिङ्गमा गएर एप्स म्यानेजेर मार्फत इन्फो हेर्न सकिन्छ।
एप्लिकेशन इन्स्टल नै नगर्ने भन्ने होइन, तर त्यसले मागेको पर्मिसन कसरी प्रयोग गर्छ भन्ने कुरामा ढुक्क नहुँदासम्म इन्स्टल नगरेकै राम्रो। जस्तो, मोबाइलमा इन्स्टल गर्न लागिएको टर्चलाइट/गेम/समाचार पढ्ने एप्लिकेशनले प्रयोगकर्तालाई थाहै नदिई फाइल डाउनलोड गर्ने, फोनको कन्ट्याक्ट र कल डिटेल पढ्ने वा लेख्ने, जीपीएस एक्टिभेट गर्ने लगायतका अनुमति माग्नुको कुनै तुक छैन।
आफूले प्रयोग गर्ने एप्लिकेशनको एप पर्मिसन्स् राम्रोसँग पढेर/बुझेर मात्रै इन्स्टल गर्ने निर्णयमा पुग्नु बुद्धिमानी हो। नत्र, व्यक्तिगत विवरण सहित हाम्रो स्मार्टफोनका सबै सूचना त्यस्ता ‘स्पाई’ एप्लिकेशनहरूले लिन्छन्। सूचना लिए मात्र त केही हुँदैनथ्यो, त्यो डाटाबेसको दुरुपयोग भयो भने त्यसको कानूनी भागीदार हामी हुनुपर्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
