समाचारशुक्रबार, आषाढ १३, २०७१

बलात्कारका अभियुक्तसँग मिलापत्रको दबाब

हिमालखबर

स्थानीय युवतीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका सप्तरीको मधुपट्टी–३ का २६ वर्षीय देवकुमार सदा मुसहरलाई छुटाउन राजनीतिक दबाबमा प्रहरीले मिलापत्र गराउन खोजिएको पीडित युवतीले सार्वजनिक बयान दिएकी छन् ।

स्वास्थ्य जाँचका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल आइपुगेकी २० वर्षीया पीडित युवतीले राजनीतिक दबाबकै कारण मिलापत्र गर्नुपर्ने भन्दै प्रहरीले स्वास्थ्य परीक्षण गराई दिन नमानेपछि आफैं स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आइपुगेको बताइन् ।

उनका अनुसार आफ्नो घरमा एक्लै सुतिरहेका बेला ढोका फोडेर सदाले ज्यान मार्ने धम्की दिँदै गत १० असार राति आफूलाई बलात्कार गरेको र घटनाको भोलिपल्ट बिहान स्थानीयवासीको सहयोगमा प्रहरीले सदालाई कुशहाबाट पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीमा जाहेरी दिएको सुनेपछि नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेलगायतका केही नेताले मिलापत्र गराउन दबाब दिँदै आएको बताउँदै घटनाको सम्बन्धमा बुधबार इलाका प्रहरी कार्यालय कल्याणपुरमा भएको छलफलमा रु ७५ हजारमा जबर्जस्ती मिलापत्र गराउन खोजिएको पीडित युवतीको काकी पर्ने सीतादेवीले बताइन् ।

‘घटना जे हुनु थियो त्यो भइहाल्यो, अब थोरै पैसा लिएर मिलापत्र गराइहाल, आखिर जाहेरी दिएर, मुद्दा लडेर के हुन्छ,’ भन्दै एमालेका स्थानीय नेताहरूले आफूहरूलाई दबाब दिएको सीतादेवीले दाबी गरिन् ।

पीडित युवती सानै छँदा उनकी आमाको मृत्यु भइसकेको छ भने बुबा रोजगारीको सिलसिलामा भारतमा छन् ।

यता एमालेका जिल्ला अध्यक्ष न्यौपानेले घटना मिलापत्रका लागि आफूले कुनै किसिमको दबाब नदिएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजयकुमार यादवले मिलापत्र गराउन आफूहरूले कुनै दबाब नदिएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>