समाचारशुक्रबार, आषाढ १३, २०७१
असारमै २६ सभासद मनोनयन्: गौतम
१३ असारमा काठमाडौंमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री बामदेव गौतमले आफू प्रधानमन्त्री सुशील कोइरालासँग नियमित सम्पर्कमा रहेको र उनकै निर्देशन बमोजिम सरकारले काम गरिरहेको बताएका छन् । उनले आफ्नो अध्यक्षतामा चाँडै मन्त्रिपरिषद बैठक बस्ने पनि जानकारी दिए ।
फोक्सोमा देखिएको प्रारम्भिक चरणको क्यान्सर रेडियोथेरापी विधिबाट उपचार गरेर प्रधानमन्त्री कोइराला चाँडै स्वदेश फर्कने जानकारी गराउँदै उपप्रधानमन्त्री गौतमले मुलुकको शान्ति सुरक्षा र सुशासनमा प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै कमी आउन नदिने बताए ।
“मेरो कार्यवाहक प्रधानमन्त्रित्वमा शान्ति सुरक्षामा कुनै कमी आउन दिइने छैन, बरु पहिलेको अवस्थामा अझ सुधार गरी प्रधानमन्त्रीलाई सुम्पनेछु,” उनले भने, “प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्न मलाई अधिकार दिनुभएको छ ।”
पार्टीहरुले नाम नदिंदा मनोनयनमा ढिलाई
सबै पार्टीले नाम नपठाएका कारण संविधानसभामा रिक्त २६ सभासद्को मनोनयन हुन नसकेको गौतमले जानकारी दिए । उनले भने, “सबै पार्टीको नाम आएमा यही असार १५ मा बस्ने मन्त्रिपरिषद्को बैठकले २६ जनाको मनोनयन गर्नेछ ।”
उनले मनोनित हुने सभासदको नाम पठाउन दलहरुले ढिलाई गरे पत्र पठाएर ताकेता गरिने बताए ।
उपप्रधानमन्त्री गौतमले असार महिनाभित्रै राजदूतहरुको नियुक्त गरिसक्ने दाबी गरे ।
एमाले महाधिवेशन सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिंदै गौतमले भने “भावी अध्यक्षको प्रतिस्पर्धामा एकातिर पार्टीको इतिहासमा सबैभन्दा बढी समयसम्म नेतृत्व सम्हालेका माधवकुमार नेपाल हुनुहुन्छ भने अर्कातिर अहिलेसम्म नेतृत्वको जिम्मेवारी नपाएका केपी ओली हुनुहुन्छ, मेरो समर्थन कमरेड ओलीलाई छ ।”
