समाचारआइतबार, आषाढ १५, २०७१
पश्चिम तराईका अस्पतालमा सिकलसेलको उपचार हुने
तुफान न्यौपाने, नेपालगञ्ज
सरकारले १५ असारमा घोषणा गरेको नीति तथा कार्यक्रममा लुम्बिनी, राप्ती, भेरी, सेती र महाकाली अञ्चल अस्पतालबाट सिकलसेल एनिमियाको उपचार व्यवस्था गर्ने उल्लेख छ ।
थारु समुदायमा वंशानुगत रुपमा सर्ने सिकलसेल एनिमिया रोग पत्ता लगाउन गर्नुपर्ने रगत परीक्षणका लागि आवश्यक मेसिन पनि पश्चिम तराईका अस्पतालमा छैन । भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा यसको उपचार हुँदै आएको भए पनि रगत परीक्षणका लागि नमूना संकलन गरी यी अस्पतालहरुले भारतको हरियाणा पठाउँदै आएका छन् ।
पश्चिम तराईमा फैलिएको सिकलसेल बारे खोजमुलक समाचार हिमाल खबरपत्रिकामा पहिलोपटक प्रकाशित भएको थियो ।
त्यस्तै नीति तथा कार्यक्रममा जिल्ला अस्पतालमा बाल रोग, प्रसुती सर्जरीसहतिका सेवा, वर्षैभरी उपलब्ध गराउन शिक्षण अस्पतालहरुले अनिवार्य रुपमा तोकिएका जिललामा विशेषज्ञ सेवा दिनैपर्ने व्यवस्था लागू गर्ने, ‘स्वस्थ महिला र बच्चा, स्वस्थ जनशक्तिको आधारशिला’ कार्यक्रम कार्यान्वयन गर्ने तथा सबै जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी थप गर्ने सरकारले उल्लेख गरेको छ ।

