समाचारसोमबार, आषाढ १६, २०७१
एमाओवादीसहितका दलले संघीयताको विषयमा छलफल गर्ने
संविधान निर्माणको सबैभन्दा जटिल मानिएको संघीयताको विषयमा छलफल आवश्यक भएको ठहर गर्दै एमाओवादी, नेकपा–माओवादीसहितका दलले बृहत्त अन्तर्क्रिया गर्ने भएका हुन् । पाँच राजनीतिक दलको अनामनगरमा १६ असारमा बसेको बैठकले ‘जनताको संघीय संविधान निर्माणका संभावना र चुनौती’ विषयक अन्तर्क्रिया गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले २५ असारमा बृहत्त अन्तर्क्रिया गर्ने निर्णय गरेको जानकारी दिए । राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणालीलगायतका विषयमा विज्ञ तथा राजनीतिक नेतृत्वका बीचमा समान धारणा बनाउन अन्तर्क्रिया गर्न लागिएको उनले बताए ।
अन्तर्क्रियामा अघिल्लो संविधानसभा काम पूरा नगरी विघटन हुनुका कारण र वर्तमान संविधानसभामा भइरहेका काम कारबाहीको विषयमा समेत समीक्षा गरिने जनाइएको छ ।
बैठकमा पाँच दलबीच भएको कार्यगत एकता र त्यसले पारेको सकारात्मक प्रभावबारेमा समेत छलफल भएको थापाले जानकारी दिए ।
ती दलले मुलुकभर राजनीतिक, सामाजिक, आर्थिक, जनताको दैनिक जनजीवनसँग जोडिएका विषय, विकास निर्माण तथा संविधान लेखनका विषयमा गर्ने भनेको विचार गोष्ठी र अन्तर्क्रियाको तयारी गर्न आ–आफ्नो पार्टीमा छलफल गरेर ठोस निर्णयमा पुग्ने निचोड निकालेका छन् ।
रासस
