समाचारबिहीबार, आषाढ १९, २०७१
एमालेको महाधिवेशन शुरु
नेकपा एमालेको नवौं महाधिवेशन काठमाडौं, भृकुटीमण्डपको सभाहलमा एमालेका अध्यक्ष झलनाथ पानसमा बत्ती बालेर गरेका छन् । त्यसक्रममा सिलिङमा झुण्डाइएको सानो यन्त्रले पुष्पबृष्टी गरेको थियो ।
महाधिवेशनस्थललाई उच्च प्रविधियुक्त बनाएको एमालेले वर्षायामका कारण उद्घाटन पूर्व जनपरिचालन र जनप्रदर्शनका कार्यक्रम भने स्थगन गरेको छ ।
२०६५ साल फागुनको पहिलो साता बुटवलमा एमालेको आठौं महाधिवेशन सम्पन्न भएको थियो । हरेक पाँच वर्षमा महाधिवेशन हुने एमालेको विधानको व्यवस्था भएपनि पूर्व निर्धारित मितिलाई सार्दै अन्ततः असार १९ लाई तोकिएको हो ।
एमालेको यसपटकको महाधिवेशनमा वैचारिक मतभेद नभई नेतृत्व चयनमा मुख्य विवाद हुने देखिएको छ ।
राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीबाट सर्वसम्मतरुपमा पारित गरी मातहतका कमिटीमा पठाइएको छ भने विधान संशोधन र सांगठनिक प्रतिवेदनलाई पनि सहमतिका आधारमा अन्तिमरुप दिइएको छ ।
एमालेका अध्यक्ष झलनाथ खनालले वैचारिक एकता नै नवौं महाधिवेशनको मुख्य विशेषता भएको भन्दै यसकै आधारमा नेतृत्वमा पनि एकता हुने विश्वास व्यक्त गर्नुभएको छ । यद्यपि, अध्यक्षमा नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले समूहगत प्रचारलाई जारी राखेका छन् ।
महाधिवेशनमा स्वदेश र विदेशका पार्टी सदस्यले चुनेका र स्वतः प्रतिनिधि गरी दुई हजार ३ सय २५ प्रतिनिधिले भाग लिँदैछन ।
प्रतिनिधिहरूलाई सुन्धारा, ठमेल, ज्याठा, बागबजार र गोंगबुसम्ममा होटेलमा राख्ने व्यवस्था गरिएको छ । कुल प्रतिनिधिको एक तिहाई प्रतिनिधि होमस्टे र आफन्तकोमा बस्ने भएका छन् ।
महाधिवेशनको भित्री सुरक्षा पार्टीका स्वयंसेवक र बाहिरी सुरक्षा राज्यका सुरक्षा निकायले गर्नेछन् । प्रतिनिधिका लागि बारकोडयुक्त परिचयपत्र तयार गरिएको छ ।
आइटीको प्रयोग
उद्घाटनका क्रममा यसअघिका महाधिवेशनका मुख्य झाँकीलाई स्क्रिनमा प्रदर्शनी गरिएको छ ।
प्रतिनिधिको नामावली दर्ता अनलाइनबाट भएको छ । सो परिचयपत्रका आधारमा डिजिटलाइज्ड रुपमा भित्र प्रवेश गर्दा, खाना वा खाजा खाँदा त्यसको प्रयोग हुनेछ ।
एमालेले आफ्नो वेबसाइटबाट महाधिवेशन उद्घाटनसत्रको प्रत्यक्ष प्रसारण गरेको छ भने राष्ट्रिय सभागृहबाट पनि अलग्गै स्क्रिन राखी हेर्ने व्यवस्था मिलाइएकोे छ । सो स्थललाई निःशुल्क वाइफाई क्षेत्र बनाइएको छ ।
एमालेले महाधिवेशनको प्रचारका क्रममा सहरका भित्तामा कागज र पर्चा टाँस्ने काम नगरी केही व्यानर प्रयोग गरेको छ भने आमरुपमा सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट प्रचार प्रसार गरिरहेको छ ।
महाधिवेशनको बन्द सत्रबारे हरेक दिन साँझ प्रेस ब्रिफिङ गरिने प्रचार प्रसार उपसमितिका संयोजक प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालका अनुसार महाधिवेशन स्थलमा स्वास्थ्य शिविर, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रमजस्ता अतिरिक्त कार्यक्रम पनि राखिएका छन् ।
विदेशी पाहुना
महाधिवेशनमा भाग लिन विदेशी कम्युनिष्ट पार्टी र राजनीतिक दलका प्रतिनिधि तथा संविधानसभामा रहेका सबै दलका नेतालाई आमन्त्रण गरिएको छ । भाकपा (माक्र्सवादी), भाकपा, भाकपा (माले लिवरेशन), फरवार्ड ब्लक, रसियन कम्युनिष्ट पार्टी, रिभोल्युसनरी कम्युनिष्ट पार्टी अफ बाङ्ग्लादेश, कम्युनिष्ट पार्टी अफ श्रीलङ्का, पिपुल्स पार्टी अफ कम्बोडियाबाट पनि प्रतिनिधि आउने क्रम जारी छ ।
एमालेका सचिव विष्णु पौडेलका अनुसार बन्द सत्रको सुरक्षा पार्टीको संयन्त्रले गर्ने भएपनि निर्वाचनका समयमा राज्यका सुरक्षा निकायले नै सुरक्षा दिने प्रबन्ध गरिएको छ ।
विद्युतीय मतदान हुने
निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले विद्युतीय मतदान हुने र त्यसले करिव ११ घण्टामा मतदान गराइसक्ने तथा एक घण्टापछि परिणाम सार्वजनिक गर्ने बताए ।
नेपाली युवाद्वय राम लक्ष्मणले तयार गरेको विद्युतीय मतदान प्रणालीलाई एमालेले संसदीय दलको निर्वाचनमा समयमा पनि प्रयोग गरेको थियो ।
अन्तिममा सहमति हुने खनाल र ओलीको विश्वास
समूहगत प्रचारमा रहेपनि पार्टीको आधिकारिक मञ्चमा बोल्दा शीर्ष नेताहरूले सहमति र एकताका आधारमा नेतृत्व चयन हुने तथा निर्वाचन भइहाले पनि पार्टी एकताबद्ध हुने बताउँदै आएका छन् ।
पार्टीका अध्यक्ष खनालले सहमतिमा आफू एक कार्यकाल सो जिम्मेवारी लिन तयार रहेको जनाउ दिइरहेका छन् भने नेता नेपाल र ओलीले पछि हट्ने सङ्केत दिएका छैनन् ।
