समाचारबिहीबार, आषाढ १९, २०७१
संसद् विकास कोषको रकम बढाउन सरकार सकारात्मक
सिँचाइ मन्त्री एनपी साउदले संसद् विकास कोषको रकम आर्थिक क्षमताले भ्याएसम्म वृदि गरिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको १९ असारमा बसेको संयुक्त बैठकमा सभासदहरुले कोषको रकम बढाएर रु.५ करोड पुर्याउनुपर्ने माग गरेकोमा क्षमताले भ्याएसम्म वृद्धि गरिने मन्त्री साउदले बताए ।
बैठकमा सभासदले २४० निर्वाचन क्षेत्रमा सन्तुलित तवरले बजेट पुर्याउन एवम् स्थानीय निकायले सिफारिश गरेका योजना र कार्यक्रमको प्राथमिकीकरण गरी विकास निर्माणलाई प्रभावकारी बनाउन पनि संसद् विकास कोषको रकम बढाउनुपर्ने माग गरेको साउदले जानकारी दिए ।
उनका अनुसार, बैठकमा सभासदले पहुँचका आधारमा नभई सन्तुलित रुपमा सरकारका कार्यक्रम र बजेटको बाँडफाँड हुनुपर्ने माग गर्दै हरेक क्षेत्रका जनताले विकासको प्रत्याभूति गर्न पाउने गरी बजेट ल्याउन सरकारसँग माग गरेका छन् ।
रासस
