समाचारबिहीबार, आषाढ १९, २०७१
‘एमाले निर्णायक शक्ति बनोस’
१९ असारदेखि काठमाडौंमा शुरु भएको नेकपा एमालेको नवौं महाधिवेशनमा विभिन्न दलका नेताहरुले देशमा स्थायित्व, सुशासन र आर्थिक विकासका लागि एमालेको भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
भृकुटीमण्डपमा जारी उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीका तर्फबाट शुभकामना दिँदै राज्यको शासकीय स्वरुप निर्धारणका क्रममा सबै शक्ति मिलेर समावेशी व्यवस्था ल्याउन आग्रह गरे ।
उनले नेपालको स्वाभिमान, विकास तथा लोकतन्त्रको संस्थागत विकासका लागि अबको पुस्तालाई सफल बनाउने गरी राजनीतिक दलले आफूलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुक पछि फर्कन नसक्ने भन्दै पौडेलले उत्पीडनमा रहेका जनतालाई मुक्ति दिलाउनु नै संविधानसभाको मूल लक्ष्य भएकाले त्यसलाई ध्यानमा राखेर नयाँ र समावेशी संविधान बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा रहेर र बाहिर रहेका दललाई संविधान निर्माणको प्रक्रियामा सहमतिमा ल्याउन सक्ने गरी एमालेको महाधिवेशन सम्पन्न होस् भन्ने कामना गरे ।
उनले आफ्ना सभासद्लाई संविधान निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देश गर्न पनि पार्टीलाई आग्रह गरे ।
एमालेले आफ्नो वैचारिक प्रतिवेदन सहमतिका आधारमा प्रस्तुत गरेकाले नेतृत्व चयनमा पनि सहमति गर्न नेम्वाङले सुझाव दिए ।
‘एमालेका शीर्ष नेताहरू मिलेमा देश हल्लन्छ’ भन्ने अध्यक्ष झलनाथ खनालको भनाइलाई सम्झँदै नेम्वाङले भने “देश हल्लिए हल्लियोस् हामी थामाँैला तर तपार्ईँहरू मिल्नुहोस् ।”
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले वैचारिक मतभेदका बीच कम्युनिस्ट पार्टीबीच अग्रगामी संविधान निर्माण र मुलुकको समृद्धिका लागि एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।
उनले हरहालतमा एक वर्षमा नयाँ संविधान जारी गराउने र स्वदेशमा रोजगारी सिर्जना गराउने वातावरणका लागि महाधिवेशनले निचोड निकाल्न सकोस् भन्ने आग्रह गरे ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न सबै पक्षबीचको सहकार्यमा जोड दिँदै यो दायित्वलाई पूरा गर्न एमालेलाई शुभकामना दिए ।
अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सत्यका लागि लड्ने र परिवर्तनका लागि अझै केही गर्न सक्ने युवा जोस बोकेको पार्टी भएकाले एमालेले त्यस भूमिकालाई सफलतापूर्वक निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदारले पहिचान र संघीयतासहितको संविधान अहिलेको आवश्यकता भएकाले यसबाट पछि नहट्न सुझाव दिए । उनले लोकतन्त्रका मामिलामा एमाले कांग्रेसभन्दा अगाडि रहेको पनि धारणा राखे ।
नेकपा मालेका महासचिव सिपी मैनालीले तत्काल वाम एकता सम्भव नभए पनि अग्रगामी कार्यसूचीमा मिलेर जान आवश्यक रहेको बताए ।
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमालेले अहिले नै जनवादी क्रान्ति पूरा भएको निष्कर्ष निकल्न नहुने बताए ।
राष्ट्रिय प्रजातन्त्रत्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले जनताको बहुदलीय जनवाद नेपालमा मात्र नभई विश्वमै कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिकीकरण गराउने विचार भएकाले यसलाई समृद्ध बनाउन सुझाव दिए ।
राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतले महाधिवेशनको सफलताको कामना गरे ।

