समाचारशुक्रबार, आषाढ २०, २०७१
राष्ट्र र राष्ट्रियता मेरो धर्म होः राष्ट्रपति
भारतमा आधुनिक शिक्षाका प्रवर्तक, समाज सुधारक ‘पण्डित मदनमोहन मालवीयको राष्ट्रनिर्माणको दृष्टिकोण र उहाँका विचारको सान्दर्भिकता’ विषयको काठमाडौंमा आयोजित प्रवचनको समापन गर्दै राष्ट्रपति रामवरण यादवलेनेपाली समाजको एकता, अखण्डता र राष्ट्रियतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
महात्मा गान्धीभन्दा जेठा पण्डित मालवीयको मुलुकलाई अङ्ग्रेजको पञ्जाबाट मुक्त गर्ने आन्दोलनदेखि शैक्षिक जागरण र चेतना प्रवाहमा भएको योगदानको कदर गर्दै महात्मा गान्धीले ‘महामना’ को उपाधि मालवीयलाई दिएको स्मरण गर्दै राष्ट्रपतिले उनले देखाएको सत्मार्गमा अघि बढ्न नेपाली मात्र नभई विश्ववासीलाई प्रेरणा मिलेको बताए ।
“पण्डित मालवीयका सिद्धान्त, आदर्श र विचार नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन्, ” राष्ट्रपति यादवले भने ।
बनारसमा बनारस हिन्दू विश्वविद्यालय (बिएचयु)स्थापना गरेर पण्डित मालवीयले शिक्षा, संस्कृति, प्रविधि र राजनीतिक चेतनाको बीजारोपण गरेको बताउँदै उनले बिएचयुमा उच्च शिक्षा हासिल गरेका जननेता विश्वेश्वरप्रसाद कोइराला, सन्तनेता कृष्णप्रसाद भट्टराई र प्रजातान्त्रिक आन्दोलनका अगुवा मनमोहन अधिकारीले नेपालका प्रधानमन्त्रीका रुपमा सामाजिक रुपान्तरण एवम् देश विकासका लागि उल्लेखनीय योगदान गरेको पनि स्मरण गरे ।
नेपालमा शिक्षाको ज्योति मधुरो भएका बेला बिएचयु नेपालीका लागि शैक्षिक– राजनीतिक चेतनाको दियो बाल्ने केन्द्र बनेको र अद्यापि त्यो परम्परा कायम रहेको बताउँदै यादवले नेपाल–भारत जनस्तरको सम्बन्ध अझ समुधुर एवम् प्रगाढ बनाउन उक्त विश्वविद्यालयको योगदान अतुलनीय रहेको बताए ।
महामना मालवीयका नाति न्यायमूर्ति गिरिधर मालवीयले आफ्ना हजुरबुवाले बिएचयु स्थापना गर्ने सिलसिलामा तत्कालीन शासकबाट भोग्नुपरेका अमानवीय व्यवहार तथा आर्थिक एवम् भौतिक सहयोग जुटाउन खेप्नुपरेका समस्याबारे जानकारी गराउँदै शिक्षा र विकासलाई नै उनले मूलमन्त्र मानेर आजीवन राष्ट्रसेवामा आफूलाई समर्पित गरेको बताए ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले संविधानलेखन र नवनेपाल निर्माणको अभियानमा महामना मालवीयले प्रतिपादन गरेका सिद्धान्त एवम् आदर्श नेपालका निम्ति उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।
