समाचारशुक्रबार, आषाढ २०, २०७१
मोदीको कार्यकालमा सम्बन्ध अझै सुदृढ हुन्छः जोली
रिपोर्टर्स क्लब नेपालले २० असारमा आयोजना गरेको साक्षात्कारमा भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको समृद्धि र विकासको लागि भारतको सधै सहयोग रहने बताए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका बेला ६०० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण, हाल दिंदै आएको ३हजार छात्रबृत्तिमा २ हजार थप गरिने र ब्यापार घाटा कम गर्ने विषयमा महत्वपूर्ण काम हुने जानकारी दिए ।
उनले ९ साउनमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमण अघिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत भ्रमण तय गरिने बताए ।
जोलीले मोदी राजनीतिक भन्दा पनि साँस्कृतिक सम्बन्धको आधारमा पशुपति दर्शन गर्न नेपाल आउन ईच्छुक रहेको बताए ।
नेपालबाट भईरहेको यूवाहरुको पलायन रोक्नको लागि औद्योगिकरणको मार्फत रोजगारको सृजना गर्न भारत नेपालमा लगानी गर्न प्रतिबद्ध भएको उल्लेख गर्दै उनले भने, “नेपालबाट पश्चिमी देश र मध्यपूर्वमा जाने यूवा श्रमलाई रोक्नै पर्छ । यसको लागि सबै खाले सहयोग गर्न भारत तयार छ ।”
जोलीले सार्क राष्ट्रहरुवीच स्वतन्त्र ब्यापार सम्झौता लागु गर्नु पर्ने धारणा राख्दै भारतीय प्रधानमन्त्रीले आफ्नो सपथ ग्रहण देखिनै यो कुरा जोड दिंदै आएको प्रष्ट पारे ।
आक्रमण नियोजित थिएन
उनले नेकपा एमालेको उद्घाटनमा सहभागी भई फर्कने बेला आफूमाथि भएको आक्रमण नियोजित नभएको टिप्पणी गरे ।
“महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नपाएकोमा कार्यकर्ताहरुमा आक्रोस थियो । म ममाथिको आक्रमण नियोजित हुँदै होईन, आकस्मिक रुपमा लागेको मात्रै हो ।” उनले भने, “यो म माथिको आक्रोश होईन झुक्किएर बोतल लागेको हो ।” यो घटनाबाट आफू दुखी नभएको भन्दै उनले आफू खुशीका साथ भारत फर्कन लागेको जानकारी दिए ।
जोलीले आफू सनातन हिन्दु धर्मी भएको र नेपालमा समेत बहुसंख्यक जनता हिन्दु धर्मावलम्बी भएकोले नेपाल हिन्दु राष्ट्र होस भन्ने चाहना राखे पनि त्यसबारे निर्णय गर्ने अधिकार नेपालीमा जनतामा रहेको बताएका थिए ।
