थप समाचारआइतबार, आषाढ २२, २०७१
रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाइने
रत्नपार्कलाई प्राकृतिक र व्यवस्थित पार्क बनाउनका लागि नक्साङ्कन कार्य भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका वातावरण विभागका महाशाखा प्रमुख रवीनमान श्रेष्ठले रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाउनकै लागि खुल्लामञ्चभित्र छिरेर व्यापार गर्ने एक हजार ५०० फुटपाथ व्यापारीलाई त्यहाँबाट हटाइएको र उक्त स्थानमा पार्किङसमेत निषेध गरिएको जानकारी दिए ।
अहिले खुल्लामञ्चको मूलद्वारमा ताला लगाइएको जानकारी दिँदै श्रेष्ठले भने, “खुलामञ्चमा अव्यवस्थित रुपमा व्यापार र पार्किङका कारण त्यहाँ फोहर र अव्यवस्था थियो, अब चाँडै रत्नपार्कलाई प्राकृतिक पार्क बनाउँदै छौँ ।”
महानगरपालिकाले खुलामञ्च र रत्नपार्कको मर्मत कार्य शुरु गरिसकेको छ । त्यस वरिपरि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारीसमेत रहेको महाशाखा प्रमुख श्रेष्ठले बताए ।
कार्यान्वयन प्रमुख धनपति सापकोटाका अनुसार मर्मतसम्भारपछि रत्नपार्क क्षेत्रमा प्रवेशका लागि टिकट व्यवस्था गरिने र पर्यटन क्षेत्रमा रुपान्तरण हुने सापकोटाको दाबी छ ।
रासस
