थप समाचारसोमबार, आषाढ २३, २०७१
कुलेखानीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु
मकवानपुरको कुलेखानी गाविस–६ कुलेखानी ड्याम नजिकै २२ असारमा भएको टाटासुमो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । आठ जना गम्भीर घाइते छन् ।
सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२५५ नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाही शंकरपुरका ५० वर्षीय घनश्याम बिष्ट, काठमाडौं पेप्सिकोलाका ६० वर्षीय कनकबहादुर थापा र ठेगाना नखुलेकी ३२ वर्षीया अपरिता केसी रहेका छन् ।
घाईतेहरु सर्लाहीको जब्दीका प्रकाश आले मगर, शंकरपुरका चन्द्रकला बिष्ट, पथ्थरीकी उषा मगर, हरिवन–६ की जेनिषा भुजेल, ठेगाना नखुलेका दीपेन्द्र झा र समिता जर्घा मगर छन् । सुमोमै सवार दुई बालिकाको भने परिचय खुल्न सकेको छैन ।
गम्भीर घाईते भएकी चन्द्रकला बिष्टलाई बीएडबी अस्पताल र दीपेन्द्र झालाई शिक्षण अस्पताल रिफर गरेको प्रहरीले जनाएको छ । बाँकी सबै घाईतेको ललितपुरको मेघा अस्पतालमा उपचार भईरहेको छ ।
कुलेखानी गाविसको कुलेखानी ड्याम नजिकै (सिमखोलामा) सुमो सडकबाट करीब सय मिटर तल खसेको थियो । घाईतेको ईलाका प्रहरी कार्यालय भिमफेदी र सिस्नेरीबाट गएको प्रहरी टोलीले उद्दार गरेको थियो ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
