समाचारसोमबार, आषाढ २३, २०७१
एमालेमा विद्युतीय मतदान नहुने
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असहमति जनाएपछि नेतृत्व चयनका लागि विद्युतीय मतदान नहुने भएको हो । अध्यक्षमण्डलका अध्यक्ष विद्यादेवी भण्डारीले समय लत्याउनुभन्दा मतपत्रबाटै मतदान गराउने निर्णय भएको जानकारी दिइन् ।
उनले २४ असार साँझसम्म समूहगत छलफल सकिएपछि उम्मेदवार दर्ता प्रक्रिया शुरु हुने बताइन् ।
समूहगत छलफल जारी
महाधिवेशनको बन्द सत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफलका लागि गठित १९ समूहमध्ये नौ समूहले आफ्नो प्रस्तुति सकेका छन् । राप्ती, जनकपुर, केन्द्रीय निकाय, जनसङ्गठन तल्लो लुम्बिनी समूहलगायतका टोली नेताले प्रस्तुति सकेका हुन् ।
अधिकांश टोलीले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन उचित छ भन्दै ३५ वर्षमा नेपाललाई समुन्नत र विकासशील बनाउने लक्ष्यको ठोस कार्ययोजना ल्याउन माग गरेका थिए ।
यस्तै, पार्टीमा वैचारिक एकता हुन नसकेको, आर्थिक पारदर्शिता नभएको, उचित मूल्याङ्कन नभएको बताउँदै युवा र महिलाको सहभागिता वृद्धि हुनुपर्नेमा जोड दिइएको प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । प्रतिनिधिले सङ्घीयतामा जाँदा साझा पहिचानसहितका थोरै प्रदेश हुनुपर्ने र चर्चित नदीका नामबाट पनि नामकरण गर्न सकिने सुझाव दिएका थिए ।
समूहगत छलफलमा कतिपयले पदाधिकारीका कोषाध्यक्ष पद सिर्जना गर्न पनि सुझाएका छन् । रासस
