समाचारमंगलबार, आषाढ २४, २०७१
खनालको राजनीतिक प्रतिवेदन पारित
राजधानीमा जारी एमाले नवौं महाधिवेशनमा अध्यक्ष खनालले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित भएको छ । २४ असारको बन्दसत्रमा समूहगत प्रस्तुतिपछि खनालले प्रतिनिधिबाट उठेका प्रश्न र सुझावमा जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले पत्रकारलाई दिएको जानकारी अनुसार अध्यक्ष खनालले प्रतिवेदनमाथि भएका छलफल र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै मुलुकलाई प्रारम्भिक पुँजीवादको अवस्थाबाट समाजवादतर्फ उन्मुख गराउनुपर्ने बताए ।
खनालले गुटबन्दीका कारण पाँच प्रतिशत मनोनयन हुन नसकेको र आयोजनाका क्रममा केही कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन ध्यान जाने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीमा नेता मात्रै हाबी भए भन्ने गुनासोका सम्बन्धमा केही हदसम्म त्यस्तो भए पनि अब पोलिटब्युरो र केन्द्रीय कमिटीको भूमिका बढाएर संस्थागत निर्णयको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक सिद्धान्तका रुपमा माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई सँगसँगै जोडेर बुझ्न आग्रह गरेका छन् । अहिले पनि पुँजीपति र मजदुर वर्गबीचको सङ्घर्ष कायम रहेको तर सामन्तवादको भने अवशेष मात्र बाँकी रहेको उनले स्पष्ट पारेका छन् ।
रासस
