समाचारबुधबार, आषाढ २५, २०७१
प्रधानमन्त्री आगामी साता स्वदेश फर्कने
अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा विगत तीन सातादेखि उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रधानमन्त्रीका निजी चिकित्सक कविरनाथ योगीले बताएका छन् ।
न्यूयोर्कबाट डा योगीले जानकारी दिएअनुसार आगामी एकसाताभित्र प्रधानमन्त्री कोइरालालाई स्वदेश फर्काउने तयारी भइरहेको छ ।
चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री कोइराला उपचारका लागि २ असारमा अमेरिका प्रस्थान गरेका थिए ।
रासस
——————————————————————————————-
प्रधानमन्त्री सुशील कोइरालालाई चौथोपटक रेडियोथेरापी
प्रधानमन्त्री सुशील कोइरालालाई अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा चौथो पटक रेडियो थेरापी दिइएको छ ।
फोक्सोमा क्यान्सर देखिएपछि उपचारका लागि अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई चौथो पटकको रेडियो थेरापी मंगलबार दिइएको छ । चिकित्सकहरुले पहिलो चरणमा पाँच पटक रेडियो थेरापी दिनुपर्ने बताए अनुसार अब बुधबार अन्तिम रेडियो थेरापी दिइने छ ।
प्रधानमन्त्री कोइारालासँगै रहेकी आफन्त मृदुला कोइरालाका अनुसार पाँचौ पटकको रेडियो थेरापीपछि केही दिन अस्पतालकै सम्पर्कमा रहेपछि कोइराला स्वदेश फर्कनेछन् । थप रेडियो थेरापी गर्नुपर्ने भएमा र चिकित्सकले स्वीकृति दिएमा भारत वा नेपाल जहाँ उचित हुन्छ त्यहीं गर्ने कोइरालाको योजना छ ।
रेडियो थेरापीपछि प्रधानमन्त्री कोइरालाले असहज महशुस नगरेको र उनको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको मृदुलाले बताएकी छन् । लामो समयको विदेश बसाईले सरकारका कामकारवाहीमा ढिलाई हुन पुगेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच कोइरालालाई भेट्न अभिनेत्री मनिषा कोइराला पनि अस्पताल पुगेकी छन् ।
कोइरालालाई लामो समयदेखि ‘ब्रोङ्काइटिस’ भएका कारण शल्यक्रिया नगरी रेडियोथेरापी विधि अपनाएर उपचार गरिन लागेको हो ।
कोइराला स्वास्थ्योपचारका लागि २२ असारमा अमेरिका प्रस्थान गरेका थिए ।

