समाचारबिहीबार, आषाढ २६, २०७१
अर्थतन्त्रमा सुधार, आर्थिक वृद्धिदर ५.२ प्रतिशत
सरकारले २६ असारमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७०/०७१ को आर्थिक सर्वेक्षण अनुसार यो वर्ष देशको समग्र अर्थतन्त्रमा सुधार भएको देखिएको हो । यो वर्ष ५.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सर्वेक्षणमा उल्लेख छ । यो पछिल्ला ६ वर्षमा सबैभन्दा बढी हो । सरकारले ५.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो ।
यो वर्ष कृषि क्षेत्रको उत्पादन ४.७ प्रतिशतले वृद्धि हुने सर्वेक्षणमा उल्लेख छ । गत वर्ष यस्तो वृद्धि १.१ प्रतिशत मात्र थियो । गैर कृषि क्षेत्रमा भने ५.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गैर कृषि क्षेत्रमध्ये चालु आर्थिक वर्षमा उद्योग तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.७ प्रतिशत र ६.१ प्रतिशत हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा नेपाल सरकारले कुल खर्च गत वर्ष भन्दा ४४.२ प्रतिशतले वृद्धि भई रु ५ खर्ब १७ अर्ब २४ करोड पुग्ने अनुमान सरकारले गरेको छ । आर्थिक वर्ष २०७०/७१ को आठ महीनासम्ममा समग्र शोधनान्तर स्थिति रु १०२ अर्ब ८१ करोडले बचतमा रहेको छ ।
घरजग्गा व्यवसायमा देखिएको मन्दी, बैंक तथा वित्तीय संस्थाहरूबाट घरजग्गा व्यवसायका लागि प्रवाह हुने कर्जामा अपनाइएको सावधानी, सरकारी पुँजीगत खर्चमा अपेक्षित वृद्धि नहुनु र लगानीको वातावरणमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

