थप समाचारशुक्रबार, आषाढ २७, २०७१
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा २६ असार राति दुई सवारीसाधन आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ८२१२ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ४१३० नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कार्यालयमा अनुसार दुर्घटनामा परी ट्रिपर चालक पर्सा महुवन–१ का २४ वर्षीय अनुरुद्र गिरीको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ट्रक चालक बारा रामपुर टोकनी–३ का ३५ वर्षीय मिरजा आलम अन्सारीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज बसपार्कमा वृद्धाको मृत्यु
वीरगञ्जको बसपार्कमा बसको पछाडिको चक्काले किच्दा २६ असारमा एक वृद्धाको मृत्यु भएको छ । कलैयाबाट वीरगञ्ज आइरहेको ना ३ ख ३१०० नम्बरको बसबाट झर्ने बित्तिक्कै बसको पछाडिको चक्काले वृद्धालाई किचेको प्रहरीले जनाएको छ ।
बसको चक्काले किचेर बाराको दहियार–४ की ६२ वर्षीया आमा फूलमाया तेलिन भक्तिनको मृत्यु भएको हो ।
ट्याक्टरमा च्यापिएर मृत्यु
कञ्चनपुरको भीमदत्तनगरपालिका–१० जिमुवाका ४१ वर्षीय श्याम नाथको २६ असार साँझ ट्याक्टरमा च्यापिएर मृत्यु भएको छ । रोपाइँका लागि खेत जोतिरहेका बेला नाथको ट्याक्टरमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
