थप समाचारशुक्रबार, आषाढ २७, २०७१

टुट्दै सम्बन्ध

हिमालखबर

-भृकुटी राई

असार महिनामा ब्रास ब्याण्डको चर्को बाजासँगै गाउँ–शहरका गल्लीहरुमा जन्ती नाच्दै गरेको दृष्य जतततै देखिन्छ ।

तस्वीर: देवकी बिष्ट

धेरै नवविवाहित जोडीहरु ‘हनिमुन’ का लागि पोखरा र चितवन जस्ता शहर गइरहँदा कैयौं युवा जोडीहरु सम्बन्धविच्छेदका लागि अदालतको चक्कर पनि काट्दै छन् ।

एक वर्षअघि विवाह गरेका उषा र विवेकको सम्बन्ध एक वर्ष पनि टिकेन उनीहरुले एक महिनाअघि मात्रै काठमाडौं जिल्ला अदालतबाट पारपाचुके गरेका छन् ।

काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्नेहरुको संख्या पाँच वर्षअघिको भन्दा दोब्बर बढेर गतवर्ष १ हजार ८२४ पुग्यो । सम्बन्धविच्छेदका लागि निवेदन दिनेहरुमा अधिकांश महिला छन् ।

काठमाडौं जिल्ला अदालतमा दर्ता हुने पारिवारिक विवादका १० मध्ये एउटा मुद्दा सम्बन्धविच्छेदको हुने गरेको छ । यसले अंश, जमिन, लेनदेनजस्ता मुद्दाहरुलाई पनि उछिनेकोे छ ।

परम्परागत नेपाली जीवनलाई घेरेर राखेकोे कडा पर्खाल भत्कँदै गर्दा त्यसको असर वैवाहिक जीवनमा पनि देखिएको अधिवक्ता सपनाप्रधान मल्ल बताउँछिन् ।

“पति–पत्नी बीचको सम्बन्ध सहजरुपमा अघि बढ्न नसक्दा त्यसको विकल्पको रुपमा सम्बन्धविच्छेद हुन्छ,” अधिवक्ता मल्ल भन्छिन, “यद्दपी शहरी जनसंख्याको एउटा सानो भाग मात्रै सामाजिक र आर्थिक रुपमा यो विकल्पका लागि सक्षम छ ।”

नेपालमा सम्बन्धविच्छेदका लागि महिलाले सोझै जिल्ला अदालतमा निवेदन दिन पाउने व्यवस्था छ भने पुरुषले गाउँ विकास समिति वा नगरपालिकामा निवेदन दिएर प्रक्रिया शुरु गर्नुपर्छ ।

सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढ्दैमा त्यसले महिला सक्षम हुँदै गएको अर्थ नलाग्ने महिला अधिकारकर्मीहरु बताउँछन् ।

अधिवक्ता मल्ल भन्छिन, “अधिकांश मुद्दाहरुमा महिलाले सम्बन्धविच्छेद गरेपछि पतिबाट नगन्य मात्रामा सम्पत्ति पाउने हुँदा यस्तो निर्णय उनीहरुले स्वतन्त्ररुपमा लिएका हुन्छन् भन्न सकिंदैन ।”

बहुविवाह गैरकानूनी भएकाले पनि धेरै मुद्दाहरुमा पतिले अर्को विवाहका लागि पत्नीलाई सम्बन्धविच्छेदका लागि दबाब दिएको देखिन्छ ।

२८ वर्षीया उषाले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराए पनि आफूसँग मुद्दा लड्ने खर्च नहुँदा अदालत बाहिरै कुरा मिलाउनु परेको थियो ।

“मैले विवेकको नाममा रहेको थोरै जग्गाबाट अंश पाउन कैयौं वर्ष अदालत धाउनु पथ्र्यो, अदालती प्रक्रियामा लाग्ने खर्च पनि थिएन, त्यसैले अदालतबाहिरै मिलापत्र गरी सम्बन्धविच्छेद गरें,” उनले भनिन् ।

पारिवारिक दबाबले हतारमा बिहे गर्दा गल्ती भएको बताउने उषा आफ्नो नियमित आयस्रोत र सहयोगी माइती नहुँदा सम्बन्धविच्छेद गर्न निकै गाह्रो हुने बताउँछिन् ।

विवाहित जोडीलाई परामर्श दिंदै आएकी मनोचिकित्सक करुण कुँवरका अनुसार इच्छाविपरित पारिवारिक दबाबमा भएका अधिकांश विवाह असफल हुने गरेका छन् । “बाबु–आमाभन्दा नितान्त फरक आकांक्षा राख्ने युवायुवतीको इच्छाविपरित दबाबमा गराइएका विवाह छिट्टै असफल हुन्छन्,” उनले भनिन् ।

बढदो आधुनिकीकरणसँगै जीवनपद्दतीमा आएको परिवर्तनले विवाहसम्बन्धी परम्परागत मूल्य मान्यतामा परिवर्तन आएको समाजशास्त्रीहरु बताउँछन् ।

“रोजगारीका लागि विदेशिने र बसाइसराइँले गर्दा परिवारसँगको सम्बन्ध कमजोर हुन्छ,” समाजशास्त्री चैतन्य मिश्र भन्छन, “परिवारसँगको दूरी बढ्दा विवाह सम्बन्ध टिकाउन पनि गाह्रो हुन्छ ।”

महिला अधिकारकर्मीहरुका अनुसार महिला साक्षरता बढदै जाँदा र अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गर्दा पनि सम्बन्धविच्छेदका घटना बढेका हुन् । यद्दपी यसको प्रमाणिक आधार भने छैन ।

युद्धमा निर्णय, शान्तिमा पछुताउ

सशस्त्र हिंसा सकिएको ८ वर्ष भइसक्दा पनि माओवादी सम्बद्ध क्रान्तिकारी महिला संगठनको कार्यालयमा पूर्व लडाकु पतिबाट पीडित महिलाको उजुरी आउने क्रम रोकिएको छैन ।

यस्ता अधिकांश उजुरीहरु अन्तरजातीय विवाह गरेका महिलाबाट आउने गर्छन् । युद्धका बेला पार्टीले नै अन्तरजातीय विवाहका लागि प्रोत्साहित गरेको थियो ।

“परिवर्तनका लागि लडेका हाम्रा कमरेडहरुमा नै परिवर्तन आउन सकेन,” संगठनकी संयोजक सीता पोखरेल भन्छिन । “युद्धपछि आफ्नै जातीको जोडी खोज्दै परिवार छोड्ने पुरुषहरु नै छन्,” उनले भनिन्, “महिलाहरुले पतिलाई छोडेको वा छोड्न चाहेको उजुरी परेका छैनन् ।”

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना छोराको दोस्रो विवाहलाई पुष्टी गर्दै दिएको चर्चित ‘फ्युजन’ भाषण कार्यकर्ताहरुका लागि आफ्ना पत्नी छोड्ने बहाना बनेको पूर्व कम्पनी कमाण्डर बदलाले बताइन् ।

दलित समुदायकी बदलाले युद्धका बेला माओवादीकै लडाकु रामचन्द्र पौडेलसँग ‘जनवादी विवाह’ गरेकी थिइन् । पछि अर्कैसँग विवाह गरेका रामचन्द्रलाई फोन गर्दा उनले ‘आफ्नै जातमा फर्किएको’ जवाफ दिएको बदलाले सुनाइन् ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>