समाचारशुक्रबार, आषाढ २७, २०७१
स्कूलमै मानव बेचबिखनविरुद्ध पढाइ
-सुरजकुमार भुजेल, मकवानपुर
मकवानपुरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विद्यालय तहमै अतिरिक्त क्रियाकलाप संचालन भईरहेको छ । मकवानपुरका ६० सामुदायिक माध्यमिक विद्यालयले बार्षिक कार्ययोजनामै समावेश गरेर सुरक्षित स्थानान्तरण र मानव बेचखिन तथा ओसारपसार नियन्त्रणसम्बन्धी क्रियाकलाप शुरु गरेका हुन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै मकवानपुर बसामाडीस्थित निर्मल उच्च माविका विद्यार्थी । तस्वीरः सुरजकुमार भुजेल
जिल्ला शिक्षा कार्यालय मकवानपुरका अनुसार जिल्लाको दुई नगरपालिका र ३५ वटै गाविसका सामुदायिक विद्यालयमा चालु शैक्षिक शत्रमा यस्ता गतिविधिहरु संचालन भईरहेका छन् ।
विद्यालयहरुले बेचबिखन विरुद्ध गायन, कथालेखन, नाटक, वतृत्वकला, चित्रकला, कविता लेखन जस्ता प्रतियोगिताहरु संचालन गरिरहेको मकवानपुरका निमित्त जिल्ला शिक्षा अधिकारी खेमनन्द भुषालले जानकारी दिए ।
उनले विभिन्न प्रतियोगिताका अतिरिक्त सुरक्षित स्थानान्तरण र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी सचेतनामुलक पोष्टर, फ्लिप चार्ट लगायत सामग्रीहरु विद्यालयको भित्तामा राख्ने गरिएको बताए ।
यस्ता गतिविधिले विद्यार्थी र उनीहरुमार्फत अभिभावक तथा समुदायमा समेत सुरक्षित स्थानान्तराणबारे छलफल र चासो बढ्न थालेको निर्मल उच्च माविका शिक्षक राजु पराजुलीले बताए ।
मकवानपुर मानव बेचविखनका दृष्टिले उच्च जोखिममा रहेको जिल्ला मानिन्छ ।
सुरक्षित बसाइसराइ र मानव बेचबिखन तथा ओसारपसारबारे बालबालिका तहदेखि नै सचेत गराउने उद्धेश्यले ग्रामीण महिला स्वावलम्बन संस्थाले जिल्ला शिक्षा कार्यालयको साझेदारीमा मकवानपुरका ६० विद्यालयमा कार्यक्रमको सहजीकरण गरिरहेको छ । कार्यक्रमलाई द एसिया फाउण्डेशन र विश्व शिक्षासँगको साझेदारीमा यूएस एडले सहयोग गरिरहेको छ ।
विद्यालयमा मानव बेचविखन विरुद्ध गतिविधि शुरु गर्नु अघि शिक्षकहरुलाई तालिम दिइएको थियो । तालिमपछि विद्यालयहरुले यस्ता गावितिविधिहरुलाई समेटिने गरी वार्षिक कार्ययोजना निर्माण गरेका थिए ।
