समाचारशनिबार, आषाढ २८, २०७१
दाइजो बेचेर हवल्दारले प्रहरी भवन बनाए
नेपाल प्रहरीका हवल्दार नवराज खड्काल विवाहमा ससुरालीबाट प्राप्त औँठी, सिक्री र मोटरसाइकललगायतका दाइजो बेचेर काठमाडौंको बज्रयोगिनी मन्दिर सुरक्षार्थ खटिएका प्रहरीका लागि आवासगृह बनाएका छन् ।
पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी बस्नलाई उग्रतारा बज्रयोगिनी मन्दिरसँगैको पुरानो भवन दिइएकोमा उक्त भवन जीर्ण भई भत्कने अवस्थामा पुगेपछि हवल्दार खड्काले आफैले आवासगृह निर्माण गरेका हुन् ।
भूकम्प गएका समयमा बज्रयोगिनी मन्दिरकै सुरक्षार्थ नेपाल प्रहरी पहरा गणबाट खटिएका हवल्दार खड्काले दुई तले चार कोठे भवन आफ्नो व्यक्तिगत रु ५ लाख ६० हजारको लागतमा निर्माण गरिदिएर उदाहरणीय काम गरेको मन्दिर सुरक्षार्थ खटिएको प्रहरी टोलीका इञ्चार्ज विदुर खड्काले बताए ।
हवल्दार खड्काले ससुरालीले दिएको दाइजो बेचेर पैसा जुटाई प्रहरी भवन निर्माण गरिदिएको जानकारी दिए ।
