समाचारआइतबार, आषाढ २९, २०७१
सिन्धुपाल्चोकमा पहिरोमा परी ६ को मृत्यु
अविरल वर्षासँगै २८ असार राति गएको पहिरोमा परी चौतारा नगरपालिका–१ पिपलडाँडाका ३ जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारा नगरपालिका–१ पिपलडाँडाका ५० वर्षीय नन्दलाल अधिकारी, ४० वर्षीया सावित्री अधिकारी र सानैदेखि काम गर्न बसेका ठेगाना नखुलेका ४० वर्षीय रामबहादुर थिङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।
पहिरोमा परी अन्य चार जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा मृतकका छोरा, बुहारी, छोरी रहेको प्रहरीले जनाएको छ ।
बिहान घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको टोलीले मृतकको किरिया खर्चबापत जनही रुं४० हजार प्रदान गरेको छ ।
यसैबीच, २८ असार राति परेको पहिराले धुस्कुन–२ साउनेपानी निवासी ४० वर्षीया सुन्तली विकको घटनास्थल र उनका श्रीमान् ५५ वर्षीय सोमबहादुर विकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ ।
यस्तै, भोटासिया–४ गाईखर्कमा घर भत्केर घरमा सुतिरहेकी ३० वर्षीया सानुमाया तामाङको घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै सुतेका तीन बालबालिका भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
रासस
