समाचारमंगलबार, आषाढ ३१, २०७१
प्रकाश दाहाल बंगुर पालनमा
पटक–पटक विवादमा मुछिंदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले अबदेखि आफू पशुपालक किसान भएको बताएका छन् ।
काठमाडौंको आरुबारीमा बंगुर र चितवनमा गाई पालन गरेका प्रकाशले रोजगारीका लागि विदेशिने युवालाई सन्देश दिन पनि आफूले पशुपालन शुरु गरेको बताए ।
सशस्त्र हिंसाका बेला सानै रहेका प्रकाशले बाबुले हांकेको युद्धबाहेक अरुथोक बुझ्ने अवसर पाएका थिएनन् । जवानी बढ्दै जाँदा उनी प्रेम र बहुविवाहका विवादमा मुछिए भने उनको सार्वजनिक व्यवहार पनि विवादित बन्यो ।
अहिले बंगुर पालनमा लागेका प्रकाश भन्छन्, “खाडी मुलुकमा रगत पसिना बगाउने युवाहरुलाई आफ्नै देशमा मेहनत गरी राष्ट्रलाई समुन्नत बनाउन आग्रह गर्छु ।”
बंगुर पालन गर्दै र सिक्दै जाने बताउने प्रकाशले भने, “५ महिना मासुका लागि बंगुर बिक्रि गर्ने, त्यसपछि पाठा ।” पाठा बिक्रिका लागि ५ सय माउ पालन गरिने उनले बताए ।
माओवादी नेता गोपाल किरांतीले संचालन गर्दै आएको २३ वटा बंगुरसहितको फर्म गत ८ चैतमा प्रकाशले खरिद गरेका हुन् । उनले फर्मलाई बढाउँदै बंगुरको संख्या ५४ पु¥याएका छन् भने तीन महिनाअघि गरिएको रु. १० लाख लगानी अहिले दोब्बर भएको छ ।
बंगुर पालनमा प्रकाशलाई अखिल क्रान्तिकारीका नेताहरु प्रकाश अधिकारी, रंजीत तामाङ र इन्द्र भुषालले सहयोग गर्दै छन् ।
बंगुर फर्म सञ्चालन गरे लगत्तै उनले आफन्तसँगको साझोदारीमा चितवनमा गाई पालन पनि शुरु गरेका छन् ।
१५ वर्ष पार्टीको पुर्णकालिन कार्यकर्ता भएर काम गरेका उनी अहिले कुनैपनि पदमा छैनन् । “मैले प्रक्रियामा गल्ती गरें, त्यसलाई सच्याउंदै रुपान्तरण भएर पनि आएको छु र, गल्ती महशुस पनि गरेको छु” उनले फेसबुकमा लेखेका छन् ।
पुर्खौली सम्पत्ति पार्टीकै काममा सखाप भएको जनाउँदै उनले फेसबुकमा लेखेका छन्, “न पार्टीको कुुनै जिम्मा लिएको छु, न लिने पक्षमा छु,” तर, हिमालखबरसँगको कुराकानीमा भने उनले राजनीति र पशुपालनलाई सँगै अघि बढाउने बताए ।
कमल रिमाल

