समाचारबुधबार, आषाढ ३२, २०७१

फेसबुकमा प्रतिक्रिया लेखेपछि थुनिएका रहमानले सफाइ पाए

हिमालखबर

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले फेसबुकमा सामान्य टिप्पणी गरेवापत प्रहरीले थुनेका सप्तरीका मुन्ना भनिने अब्दुल रहमानलाई सफाइ दिने फैसला गरेको रहमानले जानकारी दिएका छन् ।

विद्युतीय कारोबार ऐनविपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार रहेको काठमाडौँ जिल्ला अदालतसमक्ष २४ घण्टाभित्र उपस्थित गराउनु पर्नेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले क्षेत्राधिकार नपाएको सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्दै हिरासतमा राखेर असार २ गते अदालतमा मुद्दा पेस गरेको थियो ।

सप्तरी प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतसँग पाँच वर्र्षसम्मको कैद र रु एक लाखसम्म जरिवाना माग गर्दै मुद्दा पेस गरेको थियो ।

सप्तरी जिल्ला अदालतले विद्युतीय कारोबार ऐनविपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतको भएको भन्दै ३ असारमा आदेश गरेपछि प्रहरीले रहमानलाई ५ असारमा काठमाडौँ जिल्ला अदालत पु¥याएको थियो ।

अदालतले उनलाई ६ असारमा रु पाँच हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम तारेखका लागि रहमान ३२ असार विहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए ।

एक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार फेसबुकमा सार्वजनिक हुँदा रहमानले गत १७ जेठमा ‘‘के को सुध्रिुनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिराछ । त्यो पनि ५० हजार ।’’ भन्ने प्रतिक्रिया लेखेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेकै कारण राजविराज–३ बाट रहमानलाई सप्तरी प्रहरीले गत १८ जेठमा गिरफ्तार गरी २० दिनसम्म थुनामा राखेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>