समाचारबुधबार, आषाढ ३२, २०७१

ओलीलाई प्रधानमन्त्री कोइराला र मोदीको बधाई

हिमालखबर

एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीलाई उपचारका क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालाले शुभकामना दिएका हुन् । ओली विजयी भएको खबर पाएपछि कोइरालाले अमेरिकाबाटै ३१ असार राति टेलिफोन गरी शुभकामना दिएका हुन् ।

ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार कोइरालाले आफू स्वदेश फर्केपछि संविधान निर्माण र सरकारका प्राथमिकताका काममा आपसमा मिलेर अघि बढ्ने बताएका छन् । जवाफमा ओलीले मुलुकका विभिन्न चुनौतीलाई सहकार्यका आधारमा जनतालाई राहत हुने गरी सम्बोधन गर्न फरक ढङ्गले क्रियाशील हुनुपर्नेमा जोड दिएको स्वकीय सचिव आचार्यले जानकारी दिए ।

ओलीलाई ३१ असार राति नै एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपालले पनि बधाई दिएका थिए । यस्तै, ३२ असार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतले पनि टेलिफोनमार्फत बधाई दिएका छन् ।

मोदीको पनि शुभकामना

नवनिर्वाचित अध्यक्ष ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारतीय नेताहरुले पनि बधाई तथा शुभकामना दिएका छन् । मोदी, भारतीय जनता दलका अमित शाह लगायतले इमेलमार्फत शुभकामना दिएको स्वकीय सचिव आचार्यले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष र पदाधिकारीलाई एमाले केन्द्रीय कार्यालयमा १ साउन दिउँसो प्रमाणपत्र दिने कार्यक्रम छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>