समाचारशुक्रबार, साउन २, २०७१
अमेरिकी विदेशमन्त्रीले नेपाली महिला आरोही टोली भेटे
सात महादेशका सात अग्ला हिमालमध्ये ६ वटा आरोहण गरिसकेका नेपाली महिला टोलीसँग अमेरिकी विदेश मन्त्री जोन केरीले भेटेका छन् । भेटमा केरीले नेपाली आरोही टोलीलाई बधाई दिदैं उनीहरुको कार्य प्रेरणादायी रहेको बताए । उनले महिला टोलीको विश्व भ्रमणबाट आफु डाह लाग्ने गरी लोभिएको समेत बताए ।
सगरमाथा बारेमा राम्रा जानकार केरीले आफनी छोरी सगरमाथा आधार शिविर पुगेको जानकारी दिंदै नेपाल जाने आफ्नो पहिल्यै देखिको सपना पूरा गर्न कार्यकाल सकिनुअघि नै नेपाल आउने बताए । आरोही महिला टोलीले उनलाई हिमाली अनुभवकालागि नेपाल भ्रमणको निम्तो दिएको थियो ।
सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेर सेभेन समिटको यात्रा शुरु गरेका नेपाली महिला टोलीले २४ जुन २०१४ मा स्थानीय समयअनुसार १:४५ बजे उत्तरी अमेरिकास्थित माउण्ट म्याककिन्ले (डेनाली) को सफल आरोहण गरेको थियो ।
भेटघाटमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदुत तथा नेपालका लागि अमेरिकी राजदुत लगायत स्टेट डिपार्टमेन्टका उच्चअधिकारीहरु सहभागी थिए ।
केरी लगायतका अमेरिकी अधिकारीहरुले नेपाली महिला टोली विश्वकै लागि प्रेरणादायी रहेको टिप्पणी गरेको टोली संयोजक शैली बस्नेतले बताइन् ।
सेभेन समिट महिला टोली हाल अमेरिकी स्टेट डिपार्टमेन्टको एक हप्ते कार्यक्रम अन्तर्गत उच्च सरकारी अधिकारीसँग भेटघाट र विभिन्न संघसंस्थाको भ्रमण गर्दैछन् ।
अब अन्टार्कटिका महादेशको हिमाल आरोहणको योजनामा रहेका नेपाली महिलाहरुको टोलीमा शैली बस्नेत, आशा कुमारी सिंह, निमडोमा शेर्पा, चुनु श्रेष्ठ, पेमा डिकी शेर्पा, पूजना आचार्य र माया गुरुङ छन् ।
नेपाली चेलीले उत्तर अमेरिकी चुचुरोमा झण्डा फहराए

