समाचारआइतबार, साउन ४, २०७१
त्रिचन्द्र कलेजको बिपी पुस्तकालयमा आगलागी
त्रिचन्द्र कलेजस्थित बिपी पुस्तकालयमा ४ साउन दिउँसो १:१५ बजे लागेको आगो चारवटा दमकल र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको छ । आगलागीबाट पुस्तकालयमा रहेका सबै कागजात तथा फर्निचर जलेर नस्ट भएका छन् ।
उक्त घटनाबारे महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक राजकुमार सिलवालले घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।
नेविसंघ केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले पुस्तकालयमा अनेरास्ववियुका कार्यकर्ताले आगो लगाएको दाबी गर्दै भने, “आगो लगाउनेहरुको पहिचान समेत भइसकेको छ, विद्यार्थी संगठनकै कार्यकर्ताले पुस्तकालयमा आगो लगाएको घटनाले अत्यन्तै दुखी बनाएको छ ।”
बिहान ११:१५ मा खुकुरी प्रहारको घटनापछि दिउँसो १:१५ मा बिपी पुस्तकालयमा आगजनी भएको हो । घटनापछि आक्रोशित अनेरास्ववियु समर्थित विद्यार्थीले घण्टाघरअगाडिको सडकमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । तिनै आक्रोशित विद्यार्थीबाटै आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
“एकजना विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ र त्यसपछि आगलागी भएको छ,”सिलवालले भने, “ घटनाको अनुसन्धान गरिरहेका छौं ।”
यता अनेरास्ववियुका सचिव सङ्गम अर्यालले घटनामा नेविसङ्घका विद्यार्थीको संलग्नता रहेको दाबी गरेका छन् ।
घटनास्थलबाट प्रहरीले दुई थान खुकुरी बरामद गरेको छ भने सिसी क्यामेराको फुटेज पनि लिएको जनाइएको छ । २०५६ सालमा स्थापना भएको बिपी पुस्तकालय २०५८ सालमा पुनः निर्माण गरिएको थियो ।

