थप समाचारमंगलबार, साउन ६, २०७१
मलेशियन विमानको ब्ल्याक बक्स हस्तान्तरण
मलेशियन विमान दुर्घटनास्थल पूर्वी युक्रेनमा छानविनका लागि गएको टोलीलाई स्वतन्त्रतापूर्वक छानविन गर्न दिइनुपर्ने र त्यहाँ रहेका कुनै पनि प्रमाण नष्ट गर्न नपाइने सम्बन्मा राष्ट्र संघीय सुरक्षा परिषदले प्रस्ताव पारित गरेको छ ।
त्यससम्बन्धी प्रस्ताव अष्ट्रेलियाले राखेको थियो । उक्त प्रस्तावमाथि भिटो (विशेषाधिकार) प्रयोग गर्ने रुसको अधिकार भए पनि उसले उक्त प्रस्तावको स्वागत गरेको छ ।
संयुक्त राष्ट्र संघमा रुसका राजदूत विटाली चुरकिनले यस्तो घटनामा कुनै पनि पूर्वाग्रह राख्न नहुने साथै राजनीतिक स्वार्थ प्रेरित बयानबाजी पनि गर्न नहुने बताए ।
रुसी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट जनरल आन्दे्र कोरपोलोवले मलेशियन विमान उडिरहेको दिशातर्फ युक्रेनको एउटा लडाकु विमान पनि जाँदै गरेको रुसको एयर ट्राफिक कन्ट्रोलले देखेको र दुई विमानबीचको दूरी तीन देखि पाँच किलोमिटर मात्रै रहेको दाबी गरे ।
उक्त लडाकु विमानले १२ किलोमिटरको दुरीबाट निशान साध्न सक्ने पनि उनले बताए ।
युक्रेनका पृथकतावादी विद्रोहीलाई रुसले सहयोग गरिरहेकाले रुसकै सहयोगमा विद्रोहीले मलेशियन विमानमा आक्रमण गरेको पश्चिमा देशहरुले आशंका गर्दै आएका छन् भने विद्रोहीहरुले युक्रेनी सेनाले विमानमा आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।
ब्ल्याकबक्स बुझाइयो
यसैबीच युक्रेनी विद्रोहीहरुले दुर्घटनाग्रस्त विमान एमएच१७ का दुई फ्लाइट डेटा रेकर्डर मलेशियाली अधिकारीहरुलाई बुझाएका छन् । त्यस्तै विद्रोहीहरुले दुर्घटनास्थलको १० किलोमिटर परिधिमा युद्ध विरामको घोषणा गरेका छन् ।
यसअघि विमानका यात्रीहरुको शव विशेष ट्रेनबाट युक्रेनको खार्किव लगिएको छ, शवहरु त्यहाँबाट नेदरल्याण्ड्स लगिने अधिकारीहरुले जनाएका छन् ।
एजेन्सी
