थप समाचारमंगलबार, साउन ६, २०७१

बाढी पहिरोले सुदूरपश्चिममा ११ को मृत्यु

हिमालखबर

बाढीले डुबानमा परेको महेन्द्र नगर बजार ५ साउनमा । तस्वीर: बच्चु बिक

चार दिनयता बाढीपहिरोमा परी कैलालीमा ३, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीमा दुई–दुई गरी ११ जनाको मृत्यु भएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

५ साउन दिउँसो मोहना नदीमा नुहाउने क्रममा धनगढी नगरपालिका–१२ का कृष्ण बिक र शिवंगगा नदीमा नुहाउँदा चौमाला गाविस–३ की माया नेपालीको डुबेर मृत्यु भएको हो ।

मोहना नदीमा साथीभाइसँगै नुहाउँदा डुबेर घाइते भएका १७ वर्षीय कृष्णको उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पाँच वर्षीया मायाको शिवगंगा छेउमा खेल्दै गर्दा डुबेर मृत्यु भएको हो ।

रामशिखरझालामा राजघाट खोलाले बगाउँदा ५० वर्षीय वीरबहादुर रावतको ४ साउनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा डुबेर बेपत्ता भएकी बाढीकै कारण कञ्चनपुरमा भीमदत्त नगरपालिका–११ भुजेलाकी ४५ वर्षीया तुलसीदेवी पन्त तीन दिनसम्म फेला नपरेपछि आफन्तजनले काँसको शव बनाएर काजक्रिया गरेका छन् भने सुडाका ४६ वर्षीय अमर धानुकको लहैलहैमा भाँसी खोलामा हाम फाल्दा मृत्यु भएको हो ।

बाढीकै कारण डडेलधुरामा खोला तर्ने क्रममा शिर्र्ष गाविसको मकैलका पदम विष्ट र गोदा गाउँका वीरबहादुर मालको खोलाले बगाएर मृत्यु थियो ।

यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिका–६ घोल्तडाका ४५ वर्षीय हर्कबहादुर भण्डारीको नदीमा डुबेर तथा पानी परिरहेका बेला घाँस काटिरहेकी तोल्यानीकी २० वर्षीया चन्द्रा सिंहको भीरबाट चिप्लेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैतडीको तल्लो स्वराडमा चार दिन अघि घर भत्किदा ७० वर्षीय आनसिंह महता र उनकी पत्नी ६४ वर्षीया सुनादेवी महताको मृत्यु भएको थियो ।

चार दिनदेखिको निरन्तर बर्षा अहिले रोकिएको छ ।

बाढीका कारण विस्थापित परिवार पानी सुक्न थालेपछि घर फर्किन थालेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>