थप समाचारबुधबार, साउन ७, २०७१

स्वास्थ्य चौकीमा सबै महिला

हिमालखबर

-निशा राई

बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै सोनपुर उपस्वास्थ्य चौकी दाङकी अनमी बसन्ती चौधरी। तस्वीरः निशा राई

दाङको सोनपुर उपस्वास्थ्य चौकीमा जँचाउन आउनेहरूले सेतो रङको एकतले घरको दक्षिणतिरको ढोका पार गर्नासाथ अनमी बसन्ती चौधरीलाई भेट्छन्, जो थारू जातिका बिरामीहरूलाई चौधरी भाषामै अभिवादन गरेर स्वास्थ्यको सोधीखोजी गरिरहेकी हुन्छिन्। थारू समुदायको बाहुल्य रहेको यो गाविसको उपस्वास्थ्यचौकीमा उनीसहित चारै जना स्वास्थ्यकर्मी महिला छन्।

९ असार बिहान १० बजे दशमहीने शिशुलाई जाँचिरहेकी बसन्तीबारे शिशुकी आमा रामकुमारी चौधरीले भनिन्, “महिला स्वास्थ्यकर्मीले थारू भाषामा बोलेर उपचार गर्दा हामीलाई धेरै सजिलो भएको छ।”

उपस्वास्थ्यचौकीको अर्को कोठामा सिनियर अनमी इन्दुमती चौधरी बस्छिन्। २०६३ देखि त्यहाँ अनमी रहेकी इन्दुमती सोनपुरलगायत छिमेकका गाविसबाट पनि बिरामी जँचाउन आउने गरेको बताउँछिन्। छिमेकी बरुवा गाविसबाट आएकी मीना चौधरीले महिला स्वास्थ्यकर्मी भएकाले यो स्वास्थ्यचौकी आएको बताइन्। “पहिले पुरुष मात्र डाक्टर देखेकोमा अहिले महिला देखेको र उनीहरूले माया गरेर जाँच्ने गरेकाले यहाँ आउन थालेकी हुँ” मीना भन्छिन्।

सोनपुर उपस्वास्थ्यचौकी तीन वर्षदेखि महिलाको जिम्मामा छ। यहाँ सिनियर अहेब इन्दुमती, अनमीहरू बसन्ती, सावित्रा मनोहर आचार्य, खोप कार्यकर्ता मीना चौधरी कार्यरत छन्। पहिले बिरामीले महिलालाई नपत्याएर पुरुष डाक्टर खोज्ने गरेको सम्झ्ने सिनियर अहेब इन्दुमतीको कैयौं बिरामीले आफूलाई नजँचाई फर्केको अनुभव छ।

केही महीनाअघिको घटना सम्झ्ँदै इन्दुमती भन्छिन्, “क्षयरोगी सुनडब्री गाविसका एक जना पुरुष सधैं जँचाउन आए पनि सबै समस्या भन्दैनथे। तर, घरमै गएर पत्नीलाई सोधेपछि मात्र उनलाई हाइड्रोसिल भएको थाहा भयो। त्यसपछि अनेकौं पटक सम्झाउँदा मात्र खुलेर समस्या भन्न थाले। अनि मात्र बिरामीले आफ्नो समस्या भन्न सक्ने स्वास्थ्यकर्मी खोज्ने रहेछन् भन्ने थाहा पाएँ।”

महिला स्वास्थ्यकर्मीले उपस्वास्थ्यचौकीको जिम्मा लिएपछि सोनपुरको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार आएको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०६७/६८ मा ३६.९८ प्रतिशत शिशुले खोप लगाएकोमा २०६८/६९ मा ७२.४९ प्रतिशत र २०६९/७० मा ७३.९८ प्रतिशत पुग्यो। जाँच गराउने गर्भवतीको संख्या पनि तीन वर्षमा १८.४८ प्रतिशत बढेर ६९.१७ पुगेको छ। यसैगरी, गत तीन वर्षमा पाँच वर्ष मुनिका शिशुहरूको पोषणको अवस्था २५.४१ प्रतिशतबाट बढेर ७७.५९ प्रतिशत पुगेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>