समाचारशनिबार, आश्विन ६, २०६९
‘सहमतिको सरकारको दावी एमाओवादीले नै गर्ने’
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा ६ असोजमा सञ्चारकर्मीसँग पार्टी प्रवक्ता अग्नि सापकोटाले अहिलेको अवस्थमा काँग्रेसलाई नेतृत्व दिन नसकिने वताए । “संविधानसभा पुनःस्थापना हुने अवस्था भए पाँचबुँदे सहमतिअनुसार नेपाली काँग्रेसलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिने कुरा हुन सक्थ्यो,” सापकोटाले भने, “तर अहिले परिस्थिति भिन्न भएको छ, यो अवस्थामा काँग्रेसलाई सरकारको नेतृत्व दिने अवस्था छैन ।”
प्रवक्ता सापकोटाले राष्ट्रपति काँग्रेसको तर्फबाट भएकोले प्रधानमन्त्री पनि त्यही पार्टीको भएमा काँग्रेसले सत्ताकब्जा गर्ने आरोप लगाउँदै जान्दाजान्दै एमाओवादीले काँग्रेसलाई सत्ताको नेतृत्व दिने कुरा हुन नसक्ने जिकिर गरे । उनले थपे, “तर, विश्वासको आधार तयार भयो भने सोच्न (काँग्रेसलाई सरकारको नेतृत्व दिन) सक्ने अवस्था रहन्छ ।”
अहिलेकै अवस्थामा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाओवादीले गर्ने दाबी गर्दै प्रवक्ता सापकोटाले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि सहमतिको प्रयास भने जारी रहेको वताए । सहमतिको सरकारको नेतृत्वका लागि पार्टी अध्यक्षलाई अघि सार्ने वा अहिलेकै प्रधानमन्त्रीलाई निरन्तरता दिने विषयमा भने छलफल नभएको उनले वताएका थिए ।
सेना समायोजन विशेष समितिको सचिवालयमा ५ असोजमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा नेकपा एमालेका तर्फबाट बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सरकारको प्रधानमन्त्री बन्न नेपाली काँग्रेसलाई प्रस्ताव गरेका थिए ।
