समाचारबुधबार, साउन ७, २०७१
‘मोष्ट वाण्टेड’ राई पक्राउ
खोटाङका विभिन्न चारवटा प्रहरी चौकीमा आक्रमण तथा हतियार लुटपाट, चन्दा असुली र आतङ्क मच्चाउने काममा संलग्न वर्कर्सका सैन्य सह इन्चार्ज समेत रहेका ‘परिवर्तन’ भनिने ३३ वर्षीय मणिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका राई ६ साउनमा हलेसीबाट पक्राउ परेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर रानीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताए ।
बैदवारका अनुसार पक्राउ परेका राईको साथबाट पार्टीको दस्तावेज, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल हलचोकबाट सशस्त्र प्रहरी जवानको आधारभूत तालिम लिएको नक्कली प्रमाणपत्र, सेनामुख हतियार तालिमको प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयको छापलगायत बरामद गरिएको छ ।
दिक्तेल नगरपालिका–४ घर भएका राईविरुद्ध हातहतियार खरखजना, डाँका, चन्दा आतङ्क, लुटपाटलगायतको मुद्दा छ ।
पक्राउ परेका राईको नेतृत्वमा विभिन्न समयमा देविस्थान, हुक्काजोर, चिसापानी र नुनथला प्रहरी चौकी लुटपाट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोबिन्दकुमार साहले बताए ।
राईको समूहले २०६७ वैशाख २१ गते नुनथला प्रहरी चौकी आक्रमण गरी पाँच थान राइफल, त्यसका गोली, सञ्चार सेट, पेस्तोललगायत हातहतियार लुटपाट गरेका थिए । उनीहरूले लुटपाट गरेका सामग्री विभिन्न ठाउँबाट प्रहरीले बरामद गरेको थियो ।
रासस
