थप समाचारबिहीबार, साउन ८, २०७१
चौंरीको आलो रगत पिउने मेला शुरु
नाङ्गी–पाउद्धार संयुक्त चौंरीपालन समितिको आयोजनामा म्याग्दीको शिख गाविसमा भइरहेको मेलामा हिमाली भेगमा पाइने विभिन्न जडीबुटी खाएका चौंरी गाईको आलो रगत पिउने सर्वसाधारणको भिड लागेको छ ।
यार्सागुम्बा, जटामसी, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइने चरनमा चरेका चौंरीको आलो रगत पिएमा ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नीसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फुर्र्ति बढ्ने दाबी गर्दै समितिका अध्यक्ष रुद्रबहादुर तिलिजा मगरले रगत पिउन आउनेहरुको सङ्ख्या बर्सेनि बढ्दै गएकोे बताए ।
यद्दपी चिकित्सकहरु आलो रगत पिउँदा विभिन्न रोग लाग्ने खतरा रहेको बताउँछन् ।
पाँच दिनसम्म चल्ने मेलामा शिख, घार, नारच्याङ, भुरुङ तातोपानी, दाना, झिँ, पाखापानी, घतान, पुलाचौर, बेनीसँगै पोखरा र काठमाडौँबाट समेत आएका ५०० भन्दा बढी व्यक्तिले आलो रगत पिउने अनुमान गरिएको समितिका सचिव भीम पुनले बताए ।
अध्यक्ष मगरका अनुसार प्रतिगिलास रु ८० का दरले मेलामा चौंरी गाईको रगत बिक्री गरेर भएको आम्दानी हिमाञ्चल उच्च मावि नाङ्गी र शिखको पाउद मावि सञ्चालन गर्न खर्च गरिँदै आइएको छ ।
विशेष प्रकारको छुराको सहयोगले चौंरीको घाँटीबाट २० देखि २५ गिलाससम्म रगत निकाल्ने र यसरी रगत निकाल्दा चौंरीको स्वास्थ्यमा कुनै असर नपर्ने रगत निकाल्ने काम गर्दै आएका (आम्ची) पर्तबहादुर चोचाङ्गी मगरले बताए ।
शिखको खोप्रामा प्रत्येक वर्षको साउन र लरेनीमा फागुन महिनामा आयोजना हुने यो मेलाका लागि २५० चौंरीपालन गरिएको छ ।

