थप समाचारशुक्रबार, साउन ९, २०७१

२३ वर्षपछि नेपाल–भारत संयुक्त आयोगको बैठक

हिमालखबर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेको ठिक दुई महिनापछि उनका वरिष्ठ कुटनीतिज्ञ सुष्मा स्वराजले नेपाल भ्रमण गर्दैछिन्।

२३ वर्षपछि हुन लागेको दुई देशको परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आएको १० दिनपछि मोदीले पनि नेपाल भ्रमण गर्दैछन् ।

स्वराजको भ्रमणबारे दिल्लीमा जानकारी गराउँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले स्वराजको भ्रमणलाई नयाँ सरकारले छरछिमेकलाई प्राथमिकता दिएको रुपमा बुझ्नुपर्ने बताएका छन्।

बैठकमा छलफलका विषयलाई पाँच खण्डमा छुट्टयाइएको छ । पहिलोमा राजनीति, सुरक्षा र सीमा व्यवस्थापनका बारेमा, दोस्रोमा आर्थिक सहयोग र पूर्वाधार विकास, तेस्रो व्यापार एवम् पारवहन, चौथो ऊर्जा तथा जलस्रोत र पाँचौमा संस्कृति, शिक्षा एवम् सञ्चारबारे छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१० साउन बिहानैदेखि विदेशमन्त्री स्वराज राजनीतिक भेटवार्तामा व्यस्त हुनेछिन् भने कार्यालय समय प्रारम्भ हुने समयतिर आयोगको बैठकमा सहभागी हुने कार्यक्रम छ । उनले भोली नै राष्ट्रपति डा रामवरण यादवसँग राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेर प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्न सरकारी निवास बालुवाटार पुग्नेछिन् ।

भोलि दिउँसो नेपालका लागि भारतीय राजदूत रञ्जित रेले विदेशमन्त्री स्वराजको सम्मानमा लैनचौरस्थित आफ्नो निवासमा दिवाभोजको आयोजना गर्नेछन् भने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आयोजना गर्नुहुने रात्रिभोजमा स्वराज सरिक हुनेछिन् ।

११ साउन बिहान पशुपतिनाथको दर्शन गरी उनी स्वदेश फर्कने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>