समाचारशुक्रबार, साउन ९, २०७१
‘भारतसँग स्पष्ट एजेण्डासहित सार्थक वार्ता हुनुपर्छ’
रिपोर्टर्स क्लब नेपालले ९ साउनमा आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले भारत विश्वकै उदयमान अर्थतन्त्र भएकोले सहकार्य गर्दै आफ्नो विकासको ढोका खोल्नु पर्ने बताए ।
उनले नेपालको भारतसँग ब्यापार घाटा रु ४ खर्व भन्दा बढी भएकोले पनि भारतसँग साझेदारी गर्न जरुरी रहेको भन्दै घाटा कम गर्न जलविद्युतको विकास र ब्यापार बाहेक अर्को विकल्प नभएकोमा जोड दिए
“ब्यापार घाटा कम गर्न निकासी बढाउनु पर्छ,” नेपालले भने, “नेपालसँग जलविद्युत निकासीको प्रवल सम्भावना छ, त्यसैले विद्युत ब्यापार सम्झौतामा हस्ताक्षर गरेर जलविद्युतको विकास गर्न आवश्यक छ ।”
उनले भारतीय प्रधानमन्त्रीको भ्रमणकै समयमा जलविद्युत सम्झौता हुने भन्दै त्यसका लागि नेपालले तिब्र रुपमा तयारी गरिरहेको समेत स्पष्ट पारे ।
साक्षात्कारमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले लोडसेडिङको कारण नेपालको अर्थतन्त्र दयनीय बन्दै गईरहेको भन्दै विद्युत विकासको लागि भारतसँग सम्झौता गर्न आवश्यक रहेको तर्क गरे ।
उनले आ आफ्नो राष्ट्रिय स्वार्थ अनुसारको एजेण्डा तय गरेर सम्भावनका सबै क्षेत्रहरुमा स्पष्ट कुरा गर्नु पर्ने बताए ।
नेपालले विद्युत सम्झौता अरु देशसँग भन्दा पनि भारतसँग नै गर्नु पर्नेमा जोड दिदै पाण्डेले सम्झौता गर्ने बेलामा विरोध गर्न नहुने बताए ।
अर्थविद्ध डा विश्वम्भर प्याकुरेलले नेपालमा भारतकै ५० प्रतिशत भन्दा बढी लगानी रहेको, ब्यापार घाटा पनि भारतसँगै रहेको, सीमा पनि खुल्ला रहेको र सांस्कृतिक सम्बन्ध समेत रहेकाले सार्थक वार्ता गरेर ठोस सहमति गर्नु पर्नेमा जोड दिए ।
उनले देशको हितलाई ध्यानमा राखेर सम्झौता गर्न सुझाव दिँदै भारतले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनको विषयलाई पनि उठाउनु पर्ने बताए ।
परराष्ट्रविज्ञ भिम उदासले नेपालले आफ्नो पुरानो राष्ट्रिय स्वार्थमा समयानुकुल परिवर्तन गरेर विश्वासको बातावरण निर्माण गर्दै फाईदा लिन सक्नु पर्ने जिकिर गर्दै नेपालले सबै एजेण्डाहरुलाई स्पष्ट सँग राख्न सक्नु पर्ने बताए ।
