थप समाचारशनिबार, साउन १०, २०७१
भूकम्प प्रतिरोधी क्षमता नभएका होटलमा पर्यटक नबस्ने
नेपालका ठूला होटलहरू याक एण्ड एती, एभरेस्ट, हायात, ¥याडिसनलगायतका होटल भूकम्प प्रतिरोधात्मक क्षमता भएका हुनाले त्यहाँ विदेशी पर्यटकहरू पनि बस्न रुचाउने गरेको भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) ले जनाएको छ ।
नेपाल भूकम्प जोखिमको दृष्टिकोणले विश्वको ११ औँ स्थानमा छ । त्यसमा पनि राजधानी काठमाडौँ भूकम्पीय जोखिमको हिसाबले सबैभन्दा बढी जोखिम मानिएको छ । काठमाडौँमा झन्डै ५० लाख मानिसको बसोबास छ । । अहिले काठमाडौँमा भएका होटलमा ४० प्रतिशत मात्रै भूकम्प प्रतिरोधात्मक छन् ।
“पाहुनालाई सुरक्षा दिनु होटल व्यवसायीको धर्म हो”, भोजनगृहका सञ्चालक भरत बस्नेतले भने, “भूकम्प आएको बेलामा होटलमा आएका पाहुनाको जीउ, धनको संरक्षण गर्नुपर्छ ।”
“होटल बनाउन लगानी धेरै गर्नुपर्छ, लगानी गरेपछि भूकम्प प्रतिरोधात्मक तरिकाले नै बनाउँदा राम्रो हुन्छ,” होटल व्यवसायी सङ्घका महासचिव तथा एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले आफ्नो होटल बनाउँदाको अनुभव सुनाए ।
विदेशी पर्यटक नेपाल आउँदा आफू बस्ने होटल भूकम्प प्रतिरोधात्मक प्रमाणपत्र छ कि छैन भनेर हेर्ने गरेको समेत उनले बताए ।
एनसेट नेपालका कार्यकारी निर्देशक डा आमोदमणि दीक्षितले होटलको भवन भूकम्प प्रतिरोधात्मक तरिकाले निर्माण गरेर, भूकम्प गइरहेको बेलामा पनि आफ्नो व्यवसाय राम्ररी चलाउन सक्नुपर्नेमा जोड दिए । उनले नेपालमा ७० देखि ८० वर्षको बीचमा ठूलो भूकम्प जाने गरेको र यसबारेमा होटल व्यवसायीहरू पनि सचेत रहन आग्रह गरे ।
गाउँ–घरमा भूकम्प जाँदा सर्पले आफ्नो स्थान छोडेर जान्छ । चराहरू कराउँछन् । कुकुर भुक्छ । घोडा हिनहिनाउँछन् । काग कराउँछन् भन्ने खालको विश्वास छ । तर अहिलेसम्म भूकम्पको लक्षण दिने खालको वैज्ञानिक खोज हुन सकेको छैन ।

