थप समाचारशनिबार, साउन १०, २०७१
टुट्यो सोलुखुम्बुसँगको यातायात सेवा
सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म सञ्चालन भइरहेको यातायात सेवा तिङ्लास्थित सिस्नेरी भिरमा पहिरो गएपछि विच्छेद भएको छ । विगत तीन दिनदेखि सिस्नेरी भिरमा पहिरो गइरहेका कारण त्यहाँबाट सवारी साधन आवतजावत हुन सकेको छैन ।
अब वर्षायामभर त्यहाँबाट यातायात सेवा सञ्चालन गर्ने सम्भावना नरहेको यातायात व्यवसायी ललितबहादुर थापामगरले बताए । “भिरमा पहिरो चलिरहेको छ, बाटो पनि सबै बगाइसक्यो, अब वर्षा रोकिएर पहिरो नथामिएसम्म यहाँबाट यातायात सेवा सञ्चालन हुन सक्दैन,” मगरले भने ।
सिस्नेरी भिरमा पहिरो जान सुरु भएपछि अब गाडी चढ्नका लागि सदरमुकामबाट पाँच घण्टा पैदल हिँडेर तिङ्लाको बेलीडाँडामा पुग्नुपर्ने बाध्यता भएको छ । पाँच वर्षअघि सोलुखुम्बुमा यातायात सेवा सञ्चालन भएदेखि नै सिस्नेरीको भिरमा जान थालेको पहिरोले सोलुखुम्बुको यातायात सेवा प्रत्यक वर्ष वर्षायाममा रोकिँदै आएको छ ।
भिरमा करिब १०० मिटर सडक क्षेत्रको पहिरो रोकथामका लागि जिल्ला विकास समिति, वैकल्पिक पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले रु १५ करोडभन्दा बढी खर्च गरिसकेको भए पनि पहिरो रोकथाम भएको छैन ।
सोमबार र मङ्गलबार सडक विभागको डोजरले पहिरो पन्छाएर यातायातका साधन पार गराएको भए पनि बुधबारदेखि त्यहाँबाट कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
पहिरोका कारण सडक यातायात बन्द भएको छ भने वर्षाकै कारण काँगेल विमानस्थल पनि बन्द गरिएको छ । त्यस्तै सदरमुकाममा रहेको फाप्लु विमानस्थल पनि कालोपत्र गर्नका लागि डेढ वर्षदेखि बन्द रहेको छ ।
सडक यातायात बन्द हुनु र विमानस्थल पनि सञ्चालन नहुनुले समस्या अत्यन्तै नाजुक रहेको छ । कुनै अत्यावश्यक काम परेर वा बिरामी भएर उपचारका लागि राजधानी जानुपरेमा जानुपरेमा हेलिकप्टर चार्टरको विकल्प सकिएको छ ।
सडक यातायात बन्द भएसँगै सदरमुकाममा उपभोग्य वस्तुको मूल्य पनि निकै बढेको छ । सडक यातायात बन्द भएपछि सल्लेरीमा उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतभन्दा बढी बढेको उपभोक्ताहरुको गुनासो छ ।
