समाचारशनिबार, साउन १०, २०७१
राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको भेट
राष्ट्रपति रामवरण यादव र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच १० साउनमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयका साथै नेपालको समसामयिक वस्तुस्थितिबारे छलफल भएको छ ।
“दुई देशबीचको सम्बन्धका साथै राजनीतिक, सामाजिक, आर्थिक मामिलाबारे राष्ट्रपति र भारतीय विदेशमन्त्रीले विचार आदानप्रदान गर्नुभयो”, राष्ट्रपतिको कार्यालयका सचिव शारदाप्रसाद त्रितालले भेटबारे जानकारी दिँदै भने, “पारस्परिक सम्बन्धलाई अझ सुमधुर एवम् सुदृढ तुल्याउने विषयमा उहाँहरू केन्द्रित रहनुभयो ।”
नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट ठूलो सहयोगको अपेक्षा आफूले गरेको राष्ट्रपतिले उल्लेख गरेको र त्यसको प्रत्युत्तरमा विदेशमन्त्री स्वराजले सकारात्मक जवाफ दिएको पनि सचिव त्रितालले बताए ।
भारतीय विदेशमन्त्रीले तेइस वर्षपछि भएको भारत–नेपाल संयुक्त आयोगको बैठक, त्यसको कार्यसूची, दुवै देशका अधिकारीबीच प्राविधिक तहमा भएका समझदारी, भावी सहकार्यका योजना तथा आपसी हित र चासोका विषयबारे राष्ट्रपतिलाई सङ्क्षिप्त जानकारी गराएको सचिव त्रितालले जानकारी दिए ।
भेटका अवसरमा भारतीय विदेश सचिव सुजाथा सिंह, नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत भारतीय विदेश मन्त्रालयका उच्च पदाधिकारीहरु उपस्थित थिए ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग पनि स्वराजले शिष्टाचार भेट गरेकी छन् ।
अध्यक्ष नेम्बाङको कार्यकक्ष संविधानसभा सचिवालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच संविधान निर्माण, शान्ति प्रक्रिया, दुई देशबीचको सम्बन्धलगायत समसामयिक विषयमा विचारविमर्श भएको थियो ।
सो अवसरमा अध्यक्ष नेम्बाङले शान्ति प्रक्रियालाई समयमै पूरा गरेर निर्धारित समयमै संविधान जारी गरी देशलाई विकास गर्ने आधार तयार गर्ने कामलाई प्राथमिकता दिएर अघि बढाइएको जानकारी गराएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट भविष्यमा हुन लागेको नेपाल भ्रमणका क्रममा संसद्को बैठकलाई सम्बोधान गर्ने तयारीमा सचिवालय जुटिसकेको जानकारी अध्यक्ष नेम्बाङले विदेशमन्त्री स्वराजलाई गराएका थिए ।
नेम्बाङले भने, “भारतका प्रधानमन्त्री नेपाल आउने अवस्था र संसद्लाई सम्बोधन गर्ने कार्यलाई आवश्यक तयारीका साथ पर्खिरहेका छौं ।”
दाहाल र भारतीय विदेशमन्त्रीबीच भेट
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि स्वराजले संविधानसभा भवन नयाँ बानेश्वरमा भेट गरेकी छन् ।
भेटवार्तामा नेपालको शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पूरा गर्ने तर्फ प्रतिबद्धताका साथ लागेकाले त्यसमा भारत सरकारको सहयोगको अपेक्षा राखेका थिए ।
राजनीतिक तहमा नै संवाद होस् र सम्बन्ध विकास होस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको भन्दै भेटवार्तामा एमाओवादी अध्यक्ष दाहालले अन्य तहमा हुने संवादले दुवै मुलुकलाई हित नगरेकामा समेत भारतीय विदेशमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
जवाफमा विदेशमन्त्री स्वराजले आफ्नो मुलुकको चासो पनि राजनीतिक तहमा नै सबै विषयवस्तुहरु अगाडि बढोस् भन्ने रहेको र त्यसैमा नै जोड दिइएको बताएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
भेटवार्तामा एमाओवादीले नेपाललाई भारत सरकारको तर्फबाट एउटा बृहत् जलविद्युत् आयोजना उपहारस्वरुप दिन आग्रह गरेको थियो ।
एमाओवादीको आग्रहलाई सकारात्मक रुपमा लिँदै विदेशमन्त्री स्वराजले सो प्रस्तावलाई जस्ताको तस्तै प्रधानमन्त्री नरेन्द्र मोदी कहाँ पु¥याउने विश्वास व्यक्त गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।
भेटवार्तामा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्षद्वय श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव महरा, सचिव एवम् संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेल थिए ।

