समाचारआइतबार, साउन ११, २०७१
धनुषामा भट्टराई पक्षद्वारा समानान्तर कमिटी गठन
ईश्वरचन्द्र झा, जनकपुर
भट्टराई पक्षका नेताले नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित धनुषामा समानान्तर कमिटी गठन गरेका हुन् । भट्टराई पक्षीय जिल्लास्तरीय नेता तथा कार्यकर्ताले ११ साउन बिहान जनकपुरको गोपाल धर्मशालामा पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी सार्वजनिक गरेका छन् ।
एमाओवादी नेतृ शिला यादवको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेका छन् । १५–१६ जेठमा जनकपुरमा भएको सम्मेलनबाट एमाओवादीले जिल्ला समिति गठन गरेको थियो ।
सम्मेलनबाट गठित समिति विधि र प्रक्रिया सम्मत नभइ बलपूर्वक गठन भएको आरोप लगाउँदै भट्टराई पक्षले नयाँ तदर्थ समिति गठन गरी १७ साउनमा भेलामार्फत नयाँ समिति गठन गर्ने जनाएको छ ।

जनकपुरको गोपाल धर्मशालामा पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी सार्वजनिक गर्दै भट्टराई पक्षीय नेता तथा कार्यकर्ताहरु । तस्वीरः ईश्वरचन्द्र झा
धनुषामा दुवै पक्षधरले आफूसँग बहुमत सदस्य रहेको दावी गर्दै आएका छन् । पत्रकार सम्मेलनमा समानान्तर समितिका संयोजक शिला यादवले धनुषाको सात क्षेत्रका संयोजकमध्ये ६ क्षेत्रका ईन्चार्ज आफूहरुको पक्षमा रहेको दावी गरिन् ।
एमाओवादीले सम्मेलनबाट भने रामचन्द्र मण्डललाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । चुनावी प्रक्रियामा जानुपर्ने अडान राख्दैआएको भट्टराई पक्षले भने वलपूवर्क अध्यक्ष चयन गरिएको आरोप लगाउँदै आएको छ ।
गोरखा र पर्सामा पनि समानान्तर कमिटी
माओवादी गोरखामा पनि भट्टराई पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेता भट्टराईकै गृह जिल्लामा उनी निकटका यानप्रसाद गौतमको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
समानान्तर कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र कुमार र सचविमा रमेश पोखरेल छन् । अध्यक्ष पुष्पकमल दाहाल पक्षका लागि भट्टराई पक्ष विरुद्ध अभियान चलाएकोले समानान्तर कमिटी गठन गरेको भट्टराई पक्षको दाबी छ ।
त्यसैगरी, पर्सामा पनि भट्टराई पक्षले सामानान्तर कमिटी गठन गरेको छ । १० साउनमा वीरगञ्जमा पत्रकार सम्मेलन गरी भट्टराई पक्षले बलिराम साहको अध्यक्षमा ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको जनाएको हो ।
माओवादी पर्सा जिल्ला कमिटीको उपाध्यक्षमा हरी मण्डल र सचिवमा प्रभुप्रसाद यादव छन् ।
