समाचारआइतबार, साउन ११, २०७१
विभिन्न समूहसँग इलाममा वार्ता शुरु
सभासद् आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको प्रारम्भिक वार्ता उपसमितिले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बवान राज्य परिषद् (सञ्जुहाङ पालुङवा पक्षधर), किराँत जनवादी वर्कस पार्टी (अनन्त समूह), किराँत जनवादी वर्कस पार्टी (सुमन बान्तवा समूह), संयुक्त जातीय मुक्ति मोर्चा (देवराज लामा)लगायत आठवटा समूहसँग वार्ता गर्दै छ ।
वार्ता ११ साउन बिहान १० बजेदेखि इलामको चियाबारी कटेजमा शुरु भएको छ । संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता होस् र संविधान निर्माणपछि आउने अन्तरविरोध कम होस् भन्ने उद्देश्यले वार्ता शुरु गरिएको उपसमितिले जनाएको छ ।
वार्ता टोलीका सहजकर्ता रबिन कोइरालाका अनुसार सरकारी वार्ताटोलीमा गृह र शान्ति मन्त्रालयका सहसचिव, आठजना सभासद् र संयोजक सहभागी छन् ।
यस्तै, वार्तामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विज्ञप्ति जारी गरेर ताप्लेजुङ कारागारमा रहेका आफ्ना कार्यकर्ताको रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएका झुट्टा मुद्दा फिर्ता लिनुपर्ने र अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।
वार्ता स्थलमा सञ्चारकर्मीलाई निषेध गरिएको छ । वार्ता १२ साउनसम्म चल्ने वार्ता टोली सहजकर्ता खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् आरके खम्बुले जानकारी दिए ।
रासस
