थप समाचारआइतबार, साउन ११, २०७१
बम विष्फोट हुँदा बालकको मृत्यु, ६ घाइते
सप्तरी गोविन्दपुर–७ का श्रीदेव महतोकी पत्नी ललिताले ११ साउन बिहान उखुबारीमा शौच गर्न जाँदा फेला परेको डल्लो जस्तो धातुको वस्तु घर ल्याएकी थिइन् ।
उक्त वस्तुलाई ललिताका पति श्रीदेवले पेचकसले खोल्न खोज्दा भएको बिष्फोटबाट १० वर्षीय बालक रामकुमार महतोको मृत्यु भएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिएका छन् ।
ग्रिनेड बम विष्फोट हुँदा बालकका पिता बिष्णुदेवसहित ६ जना घाइते भएका छन् ।
घाइते हुने श्रीदेव महतो, जीवन महतो, गणिता महतो, ६ वर्षीया बालिका सविता महतो र पुनम यादवको लहान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घाइते पुनम बाहेक सबै एकै परिवारका सदस्य हुन् ।
ग्रिनेड बिष्फोटबाट गम्भीर घाइते भएका बालक रामकुमारलाई उपचारका लागि लहानतर्फ लैजाँदा बाटोमै मृत्यु भएको हो ।
श्रवणकुमार देव, सप्तरी
