थप समाचारसोमबार, साउन १२, २०७१
मञ्च सम्बद्ध लिम्बुवानसँग दुईबुँदे सहमति
संविधानसभा निर्वाचन बहिष्कार गरी आन्दोलनमा उत्रिएको मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद् र संवैधानिक राजनीतिक संवाद तथा तथा सहमति समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिबीच सहमति भएको हो । ११ साउन राति अबेरसम्म चलेको वार्तामा दुईबुँदे सहमति भएको हो ।
संविधानसभा निर्वाचन ताका पक्राउ परी ताप्लेजुङ कारागारमा रहेका रक्की थेबेलगायतका कार्यकर्ता रिहाइ गर्न र उनीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन उपसमितिले सरकारसँग पहल गर्ने र संविधान निर्माणको कार्यप्रति सकारात्मक प्रतिबद्धता व्यक्त गर्दै वार्ता प्रक्रिया अघि बढाउन विश्वासको वातावरण तय गर्ने सहमति भएको वार्ता समितिका संयोजक तथा सभासद आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । “लिम्बुवानसँग भएको वार्ता निक्कै उत्साह र उपलब्धिमूलक भयो,” उनले भने ।
प्रारम्भिक वार्ता उपसमितिले ११ साउनमा किराँत जनवादी वर्कर्स पार्टी (सुमन वान्तवा समूह), जातीय मुक्ति मोर्चा नेपाल, स्टेट लिम्बुवान फोर्स र मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषदसँग वार्ता गरेको जनाएको छ । उपसमितिले उनीहरूसँग छुट्टाछुट्टै वार्ता गरेको थियो ।
वार्ता समितिका सदस्य एवम् सभासद भीष्मराज आङदेम्बेले संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता होस् र संविधान निर्माणपछि आउने अन्तरविरोध कम होस् भन्ने उद्देश्यले वार्ता गरेको बताए । वार्तामा पूर्वमा शान्तिपूर्ण तथा सशस्त्र गतिविधि गरिरहेका आठवटा दल र समूह सहभागी हुने आङदेम्बेले जानकारी दिए ।
उपसमितिले १२ साउनमा पनि इलामको चियाबारी कटेजमा वार्ता गर्दैछ ।
रासस
