समाचारसोमबार, साउन १२, २०७१
मोदीको भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न तीन दलको सुझाव
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले मोदीको भ्रमणलाई सफल बनाउन र राष्ट्रिय हितमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा १२ साउनमा बसेको तीन दलको बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने सहयोगसम्बन्धीे सम्झौताका लागि सम्बन्धित मन्त्रीलाई समेत आमन्त्रण गरेर १३ साउनमा फेरि बैठक बस्ने सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग छिट्टै गठन गरिने जानकारी दिँदै उनले संविधान निर्माणका लागि सहमति कायम गर्न राजनीतिक संवाद सहमति समितिमा शीर्ष नेताहरु रहने एक समिति निर्माण गर्ने विषयमा समेत छलफल भएको बताए ।
बैठकमा संविधान निर्माणमा सहभागी बनाउन संविधानसभा बाहिर रहेका दल एवम् विभिन्न समूहसँग राजनीतिक संवाद सहमति उपसमितिले गरिरहेका वार्ता र छलफलबारे जानकारी गराइएको एमालेका उपाध्यक्ष भीम रावलले बताए ।
उनले कार्यतालिकाअनुसार संविधान निर्माणको काम तदारुकताका साथ अघि बढाउन प्रमुख दलका प्रमुख नेताहरु सम्मिलित टोली बनाएर सहमति खोज्ने र खासगरी नेकपा–माओवादीलाई वार्ताद्वारा संविधान निर्माणमा सहभागी बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमतिको कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो । शान्ति प्रक्रियासँग जोडिएको चारबुँदे सहमतिअन्तर्गत उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल भएको र छिट्टै यसबारे निर्णय लिइने एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीले बताए ।
रासस
