समाचारमंगलबार, साउन १३, २०७१
राष्ट्रपति संसदबाट अनुमोदित हुनुपर्छः ओली
स्वास्थ्य उपचार गरी सिंगापुरबाट १३ साउनमा स्वदेश फर्केका एमाले अध्यक्ष केपी ओलीले पत्रकारहरुसँग कुरा गर्दै सरकार गठनका बेला एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।
ओलीले भने, “सात बुँदे सहमति दराजमा थन्काउन गरिएको होइन, कार्यान्वयनका लागि गरिएको हो । एमाले यसको तत्काल कार्यान्वयनको पक्षमा छ ।”
कांग्रेस र एमालेबीच गत २६ माघमा भएको सात बुँदे सहमतिमा वर्तमान राष्ट्रपति/उपराष्ट्रपतिलाई संविधानसभाले अनुमोदन गर्ने र एक वर्षपछि राष्ट्रपति÷उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने उल्लिखित छ । त्यसका लागि नेपालको अन्तरिम संविधान, २०६३ मा संशोधन गर्नुपर्ने हुन्छ ।
एमालेमा अध्यक्ष निर्वाचित भएदेखि नै ओलीले उक्त सहमति कार्यान्वयनको अडान दोहो¥याउँदै आएका छन् ।
उनले संविधानसभामा २६ जना सभासद्को मनोनयन पनि छिट्टै हुने दाबी गरे ।
सिंगापुरस्थित नेसनल युनिभर्सिटीका चिकित्सकले स्वास्थ्यमा थप समस्या नभएको र फर्कन सक्ने जनाएपछि आफू फर्केको ओलीले जानकारी दिए ।
ओली फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले उपचार गराउन ६ साउनमा सिंगापुर गएका थिए ।

