समाचारमंगलबार, साउन १३, २०७१
मोदीसँग राजतन्त्र र हिन्दू राज्यबारे कुरा हुँदैन: थापा
रिपोर्टर्स क्लब नेपालले १३ साउनमा आयोजना गरेको साक्षात्कारमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएकोले त्यसबारे भारतीय प्रधानमन्त्री मोदीसँग कुनै कुरा नहुने बताएका छन् ।
थापाले भने, “राजतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएको कारण यसलाई हामी आफैले समाधान गर्नु पर्छ, यसमा भारतीय प्रधानमन्त्रीलाई तानेर विवाद बढाउनु हुँदैन ।”
मोदीको भ्रमणमा आन्तरिक कुरा उठाएर उनलाई विवादमा नपार्ने बताए ।
उनले मोदीको भ्रमणका बेला नेपालले राजनीतिक विषय छाडेर आर्थिक विकासको एजेण्डालाई अघि सार्नु पर्ने भन्दै मोदीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास ब्यक्त गरे ।
थापाले मोदीले ‘छिमेकी पहिले’ भन्ने अवधारणा ल्याएकोले आसन्न भ्रमण समस्या समाधानको विन्दु हुन सक्ने दावी गर्दै संसदमा मोदीले गर्ने संबोधनमा नेपालप्रतिको भारतीय धारणा सार्वजनिक हुने विश्वास व्यक्त गरे ।
उनले नेपालभारतबीच सीमा अपराध, तस्करी, ब्यापार घाटा लगायतका बहुआयामिक समस्या रहेको र नेपालले समाधानको स्पष्ट रोडम्याप बनाउनु पर्नेमा जोड दिए ।
“एक दशक देखि नेपाल भारत सम्बन्ध ट्रयाक बाहिर छ यसलाई समाधान गर्न पहल गर्नुपर्छ,” थापाले भने ।
थापाले भ्रमणको बेला दुबै देशको हित हुने गरी आर्थिक समृद्धिका एजेण्डा उठाउनु पर्ने भन्दै नयाँ सम्भावनाको खोजीको रुपमा समेत भ्रमणलाई उपयोग गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।
मोदीको भ्रमण अघि तीन ठूला दलले सेण्डिकेट बनाएर राष्ट्रिय सहमतिको ‘खोक्रो एजेण्डा’ तय गर्न लागेको आरोप लगाउँदै थापाले सबै दलको सहमतिमा एजेण्डा तय गर्नु पर्ने बताए ।
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन पनि देशभित्रै आन्तरिक सहमती जुटाउनुपर्नेमा थापाको जोड थियो ।
