समाचारबुधबार, साउन १४, २०७१

पीटीए गर्न तीन दल सहमत

हिमालखबर

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी पीटीएमा हस्ताक्षर गर्न सहमत भएका हुन् । १३ साउन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा पीटीएको प्रस्तावमा सहमति जुटाउन कार्यदल गठन गर्ने निर्णय भएको छ ।

सम्झौताको प्रारूप तयार पार्न तीन सदस्यीय कार्यदल गठन गरिएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । समितिमा कांग्रेसका तर्फबाट अर्थमन्त्री डा रामशरण महत, एमालेका तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल र एमाओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।

कार्यदलले दुई देशको हित हुने गरी भारतीय प्रधानमन्त्रीको भ्रमणअघि नै सम्झौताको खाका बनाउन आवश्यक गृहकार्य गर्ने एमाओवादीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यदलले सम्बन्धित सरकारी अधिकारीसँग समेत छलफल गरी आवश्यक प्रस्ताव तयार पारेर राजनीतिक दलको बैठकमा राख्ने र बैठकबाट सहमति कायम गरेर भारतसँग प्रस्ताव लैजाने सहमति भएको छ ।

कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा ऊर्जा र जलस्रोतका क्षेत्रमा उपलब्धि हासिल गर्ने अवसर गुमाउनु हुन्न भन्नेमा सबै दल सहमत भएको बताए । उनले भने, “पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोमा भएको प्रगति विवरणबारे ऊर्जा मन्त्रालयका अधिकारीले बैठकमा अवगत गराए, भ्रमणका क्रममा भारतसँग ऊर्जा व्यापार सम्झौतासँगै कुनै एक आयोजनामा लगानीको सम्झौता पनि गर्न सकिन्छ कि भन्ने विषयमा छलफल भयो ।”

एमालेका नेता तथा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले ऊर्जा व्यापार सम्झौता र ऊर्जा विकास सम्झौता छुट्टाछुट्टै विषय भएकाले ती सम्झौतालाई एकै ढङ्गले हेर्न नहुनेमा दलबीच बैठकमा सहमति कायम भएको बताए । ती सम्झौतामा गर्दा भारतले मात्रै नभई अन्य मुलुकले पनि नेपालमा ऊर्जामा लगानी गर्न र अन्य मुलुकलाई पनि विद्युत बेच्ने गरी सम्झौता हुनुपर्नेमा दलहरूको एकमत रहेको उनले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>