समाचारसोमबार, आश्विन ८, २०६९
उत्तीर्ण भएका लडाकुहरुलाई ४५ दिने बिदा
लोकसेवा आयोग र सेना समायोजन विशेष समितिको सचिवालयका कर्मचारीको संलग्नतामा नेपाली सेनाले सञ्चालन गरेको अधिकृत स्तरबाहेक अन्य दर्जाको परीक्षामा एक हजार ३८८ जना लडाकु उत्तीर्ण भएपछि उनीहरुलाई ४५ दिन बिदा दिने यसअघिको निर्णयअनुसार बिदाको प्रक्रिया थालिएको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिए ।
‘सचिवालयलाई जाँचमा उत्तीर्णहरुको अन्तिम नामावली नेपाली सेनाले दिन्छ र उनीहरुलाई अग्रिम भत्ता दिएर बिदाको प्रक्रिया थाल्छौँ,’’ शर्माले भने – ‘‘असोज र कात्तिकमा उनीहरुले पाउने रासन तथा तलब भत्तावापतको रकम उपलब्ध गराएर बिदा दिन्छौँ ।’’
बिदाको प्रक्रिया सकिएपछि उत्तीर्ण लडाकुको जिम्मा अब नेपाली सेनाको मातहतमा जाने पनि सचिवालयले जनाएको छ । यसरी बिदामा गएका लडाकुहरु मङ्सिर ६ गतेबाट सेनाले तोकेको तालिममा सहभागी हुनेछन् । सचिवालय संयोजक शर्माले तीन÷चार दिनभित्र बिदाको सम्पूर्ण प्रक्रिया पूरा हुने बताएकाछन् ।
२१ भदौ देखि प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणको कार्य २ भदौमा सम्पन्न भएपछि लडाकुहरुको जाँच लिइएको थियो ।
इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार १२३ जना माओवादी लडाकुमध्ये एक हजार ५११ जनाले स्वेच्छिक अवकाशमा रोजेका थिए । रासस
